Logo
Logo

वामदेव एकीकृत समाजवादी प्रवेश गर्ने, ‘जबज’बारे महाधिवेशनमा बहस हुने



काठमाडौं । पुराना कम्युनिष्ट नेता वामदेव गौतम आजभोलि कुनै पनि राजनीतिक जिम्मेवारीमा छैनन् । तत्कालीन ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टी नरोजेका उनी जिम्मेवारीविहीन भएका हुन् ।

नेकपा विभाजन हुने क्रममा ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेर पार्टी मिलाउने भूमिकामा आफूलाई उभ्याउन खोजे पनि उनी सफल हुन सकेनन् । त्यस यता उनी नेपाली राजनीतिको किनारामा पर्दै गएका छन् ।

गौतमले केही महिना अगाडि सोही अभियानलाई दलमा रूपान्तरण गरेका थिए । केही कम्युनिष्ट समूहहरूलाई जम्मा पारेर राजनीतिक दल बनाउने गौतमको प्रयास सफल भने भएन ।

गौतमको दलले औपचारिकता नै नपाइ खटपट हुँदा उनको समूहमा कारबाही गरागरको अवस्था बन्यो । उनले मात्रै कारबाही गरेनन्, उनी पनि कारबाहीमा परे । त्यस यता उनी कुनै राजनीतिक जिम्मेवारीमा छैनन् ।

कुनै समय आफैले पार्टी गठन गरेर नेतृत्व गरेका गौतम पुनः राजनीतिमै फर्कने तयारीमा जुटेका छन् । त्यसका लागि उनले नेकपा एमालेबाट विद्रोह गर्दै बनेको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

मानसिक रूपमा गौतम एकीकृत समाजवादी प्रवेश गर्न तयार भइसकेका छन् । तर, एकीकृत समाजवादी प्रवेशका लागि उचित बहानाको खोजीमा देखिन्छन् ।

मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पार्टी  कार्यालय आलोकनगरमा भेटवार्ता गरेका गौतमले छिट्टै पार्टीमा समाहित हुने प्रतिवद्धता जनाएका छन् । केही सैद्धान्तिक वैचारिक विषयहरूमा छलफलपछि गौतम एकीकृत समाजवादी प्रवेश गर्ने बुझिएको छ ।

एकीकृत समाजवादी प्रवेशको सन्दर्भमा वामदेवले जनताको बहुदलीय जनवाद ‘जबज’लाई बटमलाइन बनाएका छन् । पार्टीको मार्गदर्शक सिद्धान्त जबजलाई बनाउनुपर्ने वामदेवको अडान रहेको छ ।

तर, एकीकृत समाजवादी भने ‘जबज’लाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाएर जाने पक्षमा छैन । ‘जबज’ तात्कालिक कार्यक्रम रहेको र त्यो चरण पार भएर समाजवादी यात्रा तय भइसकेकाले अब समाजवादी कार्यदिशा नै उपयुक्त हुने पक्षमा छ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने– ‘जबज तात्कालिक कार्यक्रम थियो । त्यो चरण पार भइसकेको छ । अबको कार्यदिशा समाजवाद केन्द्रित हुन आवश्यक छ । त्यसैले अब पनि जबजलाई बोकेर अघि बढ्न सकिन्न ।’

गौतम एकीकृत समाजवादी प्रवेश गर्ने सन्दर्भमा मार्गदर्शक सिद्धान्तका विषयमा छलफल हुँदै आएको छ । अबको कार्यदिशा समाजवादी कार्यदिशा नै हो भन्नेमा गौतम पनि दुबिधामा छैनन् । तर, जबजलाई यतिकै छोड्न नहुने उनको धारणा रहँदै आएको छ ।

जबजको विषयलाई दिएर गौतम एकीकृत समाजवादी प्रवेश गर्ने सन्दर्भमा समस्या भएपछि मध्यमार्गी बाटो खोज्ने प्रयास भएको छ । त्यो भनेको, अहिले एकीकृत समाजवादीले अंगीकार गरेको सिद्धान्तलाई नै मान्ने र महाधिवेशनमा जबजबारे छलफल गर्ने हो ।

पछिल्लो छलफलहरूमा एकीकृत समाजवादीले वामदेवलाई ‘जबजलाई महाधिवेशनमा छलफल गारौं’ भन्दै आएको छ । एकीकृत समाजवादीका एक नेताका अनुसार जबजबारे महाधिवेशनमा छलफल गर्न गौतम आधारभूत रूपमा तयार भइसकेका छन् ।

वामदेव एकीकृत समाजवादी प्रवेश गर्ने र उनलाई दिइने जिम्मेवारीको विषयमा समेत छलफल भइसकेको छ । अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछिको वरीयतामा रहनेगरी गौतमलाई भित्र्याउने एकीकृत समाजवादीले तयारी गरेको छ । यस विषयमा गौतम पनि सहमत रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्