Logo
Logo
विश्व बजार

स्मार्टफोन उत्पादनमा भारतले चीनलाई टक्कर दिन सक्छ ?


प्रीति गुप्ता र बेन मोरिस

2k
Shares

मुम्बई । मुम्बईको एक मार्केटिङ अफिसमा काम गर्ने दीपा आसवानीका लागि नयाँ स्मार्टफोन किन्नु एउटा मिसन जस्तै थियो ।
उनी भन्छिन्– ‘म नयाँ फोन किन्दा धेरै पैसा खर्च गर्न चाहन्न ।’ 

दुई महिनाभन्दा धेरै सोचेपछि चिनियाँ उत्पादन ‘वन प्लस’ उनको रोजाइमा पर्यो । जसको मूल्य लगभग साढे ३२ हजार भातीय रुपैयाँ थियो । यो स्मार्टफोनको लागि उचित मूल्य नै हो । तर, भारतमा यो मूल्य पनि कम मानिन्न ।

उनी भन्छिन्– ‘राम्रो फिचर भएको र गोजीमा धेरै भारी नहुने फोन किन्ने सोच थियो ।’

अस्वानीको यो नयाँ स्मार्टफोन भारतमा एउटा चिनियाँ कम्पनीले उत्पादन गरेको हो । 

सन् २०१४ सम्म भारतमा बिक्री हुने अधिकांश फोन आयात गरिएका हुन्थे । तर, आज समय यो फेरिएको छ । भारतमै धेरै किसिमका फोन उत्पादन हुन थालेका छन् ।

इन्डिया सेल्युलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसनका अनुसार २०२२ मा देशमा बिक्री भएका अधिकांश फोन भारतमा उत्पादन भएका थिए ।
तर पनि, ती धेरै फोनहरू ताइवानको फक्सकन वा दक्षिण कोरियाली सामसुङ जस्ता विदेशी कम्पनीहरूको भारतमा रहेका कारखानाहरूमा उत्पादित थिए । तर पछिल्लो समय भने स्वदेशी कम्पनीको संख्या पनि तीव्र गतिमा बढिरहेका छन् । 

माइक्रोम्याक्स इन्फरमेटिक्स कम्पनी ती मध्येको एक हो, सन् २००८ मा ह्यान्डसेट निर्माण व्यवसायमा आएको थियो । माइक्रोम्याक्स मात्र दुई वर्षमा भारतको सबैभन्दा ठूलो चिप फोन (फिचर फोन) उत्पादक कम्पनी बन्यो । 

चीनको तुलनामा भारत कहाँ ?चीनको तुलनामा भारत कहाँ ?

बजारमा राम्रो उपस्थिति जनाए पनि चिनियाँ स्मार्टफोन कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताउँछन्, माइक्रोम्याक्सका सहसंस्थापक राजेश अग्रवाल ।

माइक्रोम्याक्सले नयाँ फोन लन्च गर्दा भारतमा मात्र कम्तिमा १० लाख युनिट बेच्ने आशा राख्छ । तर, तुलनात्मक रूपमा भारतीय उत्पादका १० लाख फोन बिक्री हुँदा प्रतिस्पर्धी चिनीयाँ उत्पादनकर्ताले भारतमा मात्र एक करोड भन्दा पनि धेरै फोन बिक्री गर्छ । 

एकै पटक धेरै सङ्ख्यामा बिक्री हुने हुँदा चिनियाँ कम्पनीले सस्तोमा फोनहरू बिक्री गर्ने गरेको छ ।

 ​​​​​​​चिनियाँ कम्पनीहरूले विश्व बजारमा पहुँच स्थापित गर्नुको एक मात्र कारण उनीहरूको उत्पादन क्षमतालाई मानिन्छ । किनकी, चिनियाँ मोबाइल उत्पादकहरू स्थानीय स्रोतसाधन प्रयोग गर्छन् ।

भारतले चार्जर, केवल, ब्याट्रीलगायत मोबाइलका केही कम्पोनेन्टहरू मात्र उत्पादन गर्छ । तर स्क्रिन र चिप्स जस्ता धेरै महत्वपूर्ण सामग्री विदेशबाट नै आयात गर्ने गरेको छ ।

राजेश अग्रवाल भन्छन्, ‘हाम्रो आफ्नै भान्छा हुनुपर्छ जहाँ सबै थोक स्वदेशमै उत्पादन गर्न सकिन्छ ।’
उनी थप्छन्– ‘हाम्रो अन्तिम लक्ष्य भनेको फोनको मात्र नभई ल्यापटप, ट्याब्लेट र अन्य उपकरणहरूमा पनि घरेलु उपभोगका लागि उत्पादन गर्नेदेखि विश्वव्यापी माग पूरा गर्न सक्ने परिवर्तन ल्याउने हो ।’

मेड इन इन्डियाका लागि भरत के गर्दैछ ?
भारत सरकार ‘मेड इन इन्डिया’ योजनालाई द्रुत गतिमा अगाडि बढाउन चाहन्छ । भारतले मेड इन इन्डियालाई गति दिन अप्रिल २०२१ मा टेलिकम र नेटवर्किङ उपकरणहरूको लागि उत्पादन लिङ्क प्रोत्साहन (पीआइएल) योजना ल्याएको थियो । भारतमा सबै प्रकारका उत्पादनलाई बढाउन दिन ल्याइएको नीति हो । पीआइएल योजनामार्फत भारतमा निर्मित मोबाइल फोनका पार्टपुर्जाहरूमा अनुदान दिइन्छ ।

इन्डियन सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन (आइसीइए)का अनुसार हाल भारतमा बनेका मोबाइल फोनको १५ देखि २० प्रतिशत पार्ट्स मात्रै भारतमा बन्दै आएका छन् । पीआइएल यसलाई बढाएर ३५ देखि ४० प्रतिशतसम्म पुर्याउने लक्ष्यमा छ ।

आइसीइएका अध्यक्ष पंकज महिन्द्रू भन्छन्– ‘ इलेक्ट्रोनिक्स उत्पादकहरूको सन्दर्भमा राज्यले अवलम्बन गरेको नीति ‘गेम चेन्जर’ नीति हो ।’
उनी भन्छन्– ‘भारत मोबाइल फोन उत्पादनको दिशामा द्रुत गतिमा बढिरहेको देश हो र मोबाइल ह्यान्डसेट उत्पादनको हिसाबले विश्वको दोस्रो ठूलो देशको रूपमा उभिएको छ ।’

भारत मोबाइल उत्पादनको हब बन्न सक्छ ?
आइसीइएका अनुसार भारतबाट हुने इलेक्ट्रोनिक्स निर्यातमा मोबाइल फोनको सबैभन्दा ठूलो हिस्सा रहेको छ र यो हिस्सा आगामी वर्ष ५० प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ ।

​​​​​​​भारत सेल्युलर फोन उत्पादकहरूको लागि अर्को विश्वव्यापी हब हुनेछ, भारतको मोबाइल निर्माता लाभा इन्टरनेशनलका अध्यक्ष हरि ओम रायले भने ।

चीनमा पैसा बढ्दै जाँदा ज्याला पनि बढ्दै गएको र यस सम्बन्धमा अन्य देशको तुलनामा उसले पाएको फाइदा केही हदसम्म घटेको उनको दाबी छ ।

त्यति मात्र नभएर चीनमाथि बढ्दै गएको परनिर्भरताबाट विश्व नै चिन्तित भएको भारत आशावादी रहेको हरिओम बताउँछन् ।
ओम राय भन्छन्– ‘कम्पनीहरूले आफ्नो उत्पादन स्थानान्तरण गर्न चाहन्छन् भने भारत एक आकर्षक विकल्प हो ।’

उनी भन्छन्– ‘भारतमा विश्वको जनसंख्याको १८ प्रतिशत बसोबास छ । विश्व जीडीपीमा यसको हिस्सा ३.१ प्रतिशत हो । देशको जीडीपी बढ्दै जाँदा भारत विश्वको सबैभन्दा ठूलो बजार बन्नेछ । दीर्घकालीन सम्भाव्यतालाई हेर्दा हरेक कम्पनीले भारतमा आफूलाई स्थापित गर्न र आफ्ना प्रतिद्वन्द्वीलाई टक्कर दिने प्रयास गरिरहेका छन् ।’

०००

तर, दीपा आसवानीलाई मुम्बईका यी औद्योगिक नीतिहरूमा खासै चासो छैन ।
उनी भन्छिन्– ‘मेरो स्मार्टफोन कहाँ बनेको छ, मलाई मतलब छैन । एक उपभोक्ताको रूपमा, मलाई लाग्छ यो सबै मूल्य र सुविधाहरूको कुरा हो । एक स्मार्टफोन खरिदकर्ताको रूपमा म नयाँ र राम्रो प्रविधि भएको उत्पादकलाई हेर्नेछु ।’

(बीबीसी हिन्दीबाट अनुवाद गरिएको सामग्री ।)

प्रतिक्रिया दिनुहोस्