Logo
Logo

चीन–दक्षिण एसिया साहित्य सम्मेलन बुधबारदेखि काठमाडौँमा सुरु हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २७ असोज । चीन र दक्षिण एसियाका स्रष्टाहरू काठमाडौँमा भेला हुँदै छन् । चीन तथा दक्षिण एसिया लिटरेचर फोरमको संस्थापक सदस्य नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा असोज २८ बुधबारदेखि कात्तिक ३ गतेसम्म प्रज्ञा भवन, कमलादी, काठमाडौँमा आयोजना हुने दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलनमा चीन र सार्क मुलुकका स्रष्टाहरू भेला हुन लागेका हुन् । सम्मेलनमा चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सका साहित्यकार भेला हुने सम्मेलन आयोजक नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए ।

कुलपति उप्रेतीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असोज २८ गते बुधबार बिहान ९ः३० बजे समुद्घाटन हुने सम्मेलन पाँच दिनसम्म चल्ने छ । २८ गते साँझ विदेशी पाहुना स्रष्टाहरूको स्वागतमा प्रज्ञा भवनमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ । क्षेत्रीय रूपमा बहुपक्षीय महत्वका साहित्यिक एवम् सांस्कृतिकजस्ता प्राज्ञिक विषयमा सहकार्य गर्न दुई वर्षअघि ‘चीन तथा दक्षिण एसिया साहित्य सभा’ नामक निकाय स्थापना गरिएको थियो ।

चीन, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका समकक्षी प्रज्ञा–प्रतिष्ठानहरू एवं नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत संस्थापक रहेको उक्त साहित्यिक निकायले क्षेत्रीय रूपमा भाषा, साहित्य, संस्कृति र वाङ्मयका समस्त विधाको विकासका लागि काम गर्ने उद्देश्य लिएको छ । “साहित्यिक सार्कको अवधारणासहित तीन वर्षअघि नै यस क्षेत्रका सबै मुलुकलाई समेटेर साझा फोरम बनाएका थियौँ,” उप्रेतीले भने– “त्यही फोरमद्वारा पहिलो सम्मेलन गत वर्ष चीनको छेन्दुमा आयोजना गरिएको थियो भने यसपटक नेपालको काठमाडौँमा आयोजना गर्न लागिएको हो ।”

प्रतिक्रिया दिनुहोस्