काठमाडौंका केही ठूला सहकारीविरुद्ध प्रहरीमा उजुरी पर्न थालेको छ । निक्षेप फिर्ता नगरेको भन्दै बचतकर्ता प्रहरीमा धाउन थालेका छन् ।

यसैक्रममा ललितपुरको लालीगुराँस सहकारीविरुद्ध पनि उजुरी पर्न थालेको छ । स्रोतका अनुसार उच्च पदबाट अवकाश पाएका एक पूर्व कर्मचारी नै सो सहकारीबाट पीडित बनेका छन् । उनको एक करोडभन्दा धेरै बचत रहेकोमा बारम्बार धाउँदा पनि सहकारीले फिर्ता गर्न सकेको छैन । बाध्य भएर उनी ललितपुर प्रहरीमा निवेदन लिएर गएका छन् । त्यस्ता अन्य व्यक्तिहरु पनि प्रहरीमा जान थालेका छन् । जसमा केही प्रहरीकै आफन्त समेत छन् ।
लालीगुराँस सहकारीले उच्च ब्याजको प्रलोभनमा बचत संकलन गरेका थिए । त्यो पैसा सञ्चालकहरुले व्यक्तिगत स्वार्थमा जथाभावी लगानी गर्दा अहिले सहकारीमा तरलता समस्या भएको हो । जसबाट सर्वसाधरण पीडित बनेका छन् । तर, सहकारीका हर्ताकर्ता सुरेन्द्र भण्डारीले पहुँचका आधारमा छानबिन रोकाउँदै आएका छन् ।
कुलेश्वरको गौतमश्री सहकारीका बचतकर्ताको अवस्था पनि उस्तै छ । सञ्चालक रामबहादुर गौतम सहकारीको पैसा विभिन्न क्षेत्रमा लगानी गरेर टाट पल्टिएका छन् । गत साउनमा उनी फरार भएकोमा पछि उपस्थित भएर पैसा तिर्ने प्रतिबद्धता जनाएका थिए । तर, बचतकर्ताको बेहाल छन् ।
यसअघि सिभिल र ओरेन्टल सहकारीमा सर्वसाधरणको करोडौैं डुबिसकेको छ । ती सहकारीका सञ्चालकविरुद्ध मुद्दा पनि चलिसकेको छ । तर, बचतकर्ताले आफ्नो पैसा पाउन सकेका छैनन् । नियमनकारीले खाम बुझ्ने तर नियमन नगर्ने गरेका कारण यसरी एकपछि अर्काे सहकारी समस्यामा परेका छन् । जसकारण हालै संसदमा दर्ता भएको सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित बिधेयकमा ठूला सहकारीलाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने प्रस्ताव गरिएको छ ।











