
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सन्तुलन कायम गर्न कठोर कदम चाल्नु पर्ने बाध्यता रहेको बताएका छन् । आजको संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्थ–वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिँदै उनले त्यस्तो बताएका हुन् ।
उनले जनताको चाहनाअनुसार काम गर्ने ठाउँमा बजेट सन्तुलन गर्न कठोर कदम चाल्नु पर्ने अवस्था रहेको बताए । उनले भने, ‘निर्वाचन पछि गठन भएको नयाँ सरकारले जनताका विकास र समृद्धिका चाहनालाई सम्बोधन गर्न थप स्रोत परिचालन गर्नुपर्ने अवस्थामा हामी भने बजेट सन्तुलन कायम गर्न कठोर कदम चाल्नु पर्ने बाध्यात्मक परिस्थितिबाट गुज्रिरहेका छौँ । ’
उनले विगत केही समय देखि नेपालको अर्थतन्त्र चुनौती पूर्ण अवस्थाबाट गुज्रिरहेकोसमेत बताए । कोभिड, रुस-युक्रेन युद्ध लगायत कारणले नेपालको अर्थतन्त्रमा प्रभाव परेको उनको भनाई छ ।
संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक जारी छ । अहिले अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्थ–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।











