काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न क्षेत्रमा अनुगमनको क्रममा बजारमा म्याद गुज्रिएका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत गरेको छ ।
विभागका अनुसार निरीक्षण अधिकृतकाे टोलीले बुधबार विभिन्न स्थानमा रहेका स्टोरबाट टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा ब्राण्डका करिब२७ सय कार्टुन बियर नियन्त्रणमा लिएको हो ।

विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित ब्राण्डका करिब १३ लाख ९० हजार रुपैयाँको बियर सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँस्थित गोदाममा भण्डारण गरिएको अवस्थामा फेला परेपछि आवश्यक कारबाहीका लागि गोदाम शिलबन्दी गरिएको छ ।’ मिति गुज्रिएको बियर बिक्री गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाएको समेत विभागले जनाएको छ ।
सिनामंगलमै रहेको सीके ट्रेडिङ प्रालिको गोदाममा पनि अवधि सकिएका टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्गका करिब ३ सय २ कार्टुन बियर फेला परेको विभागले जनाएको छ ।
सीके ट्रेडिङको गोदाममा करिब ८ लाख ७५ हजार मूल्यको म्याद नाघेको बियर भेटिएको विभागले जनाएको छ । उक्त गोदामलाई पनि शिलबन्दी गरिएको छ । शिलबन्दी गरिएका गोदाममा रहेको बियरको मूल्य करिब २२ लाख ६५ हजार पर्ने विभागका सहायक सूचना अधिकारी कमलप्रसाद भुसालले जनाएका छन् ।
यस्तै, धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको ३ वटा गोदाममा अनुगमन गर्दा सुरक्षित उपभोग्य अवधि सकिएको २१ सय कार्टुन बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको विभागका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए ।











