झापा । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।जीतसँगै आर्मीले १३ लाख नगद उपहार पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाख पाएको छ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि १४ मिनेट अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा पुगेको थियो ।
पेनाल्टीमा मछिन्द्रका दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरेका थिए । आर्मीका दिपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरेका थिए ।
आर्मीका गोलरक्षक समित श्रेष्ठले पेनाल्टीमा रेजिन धिमाल र देवेन्द्र तामाङले प्रहार गरेको बल रोकेका थिए । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले भने आर्मीका सेसेहाङ आङदाम्बेको मात्रै बल छेक्न सफल भए ।
खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्ता मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडी मछिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरूले २५ हजार नगद पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए ।











