Logo
Logo
टिप्पणी

एमालेका तीन मुख्यमन्त्री धरापमा, केही समयमै नयाँ समीकरणको सरकार



काठमाडौं । राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धन बनेसँगै नेकपा (एमाले) केन्द्रदेखि प्रदेशसम्मै सत्ताबाहिर हुने भएको छ ।

विश्वासको मत लिन नसकेर एमाले नेता राजेन्द्र रावलले सुदूरपश्चिमको मुख्यमन्त्री पद एक महिनामै गुमाएका थिए । चार प्रदेशको मुख्यमन्त्री एमालेको मागमा परेको थियो ।

केन्द्रमा सत्तासमीकरण बदलिएसँगै एमालेका बाँकी तीन मुख्यमन्त्री र ६ वटै प्रदेशका मन्त्रीको पद पनि धरापमा परेको छ । नयाँ गठबन्धनका कारण एमालेको नेतृत्वमा रहेका प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश सरकार परिवर्तन हुनेछ ।

प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । ९३ सदस्यीय प्रदेशसभामा आठदलीय मोर्चाका ४७ सांसद छन् । अहिले एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र, राप्रपा र जसपा सहभागी छन् ।

प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेश १ मा नयाँ समीकरणको पक्षमै बहुमत पुग्छ ।

केपी शर्मा ओली सरकारमा १३ दिने गृहमन्त्री भएका खगराज अधिकारी पनि साढे २ महिने मुख्यमन्त्री भएर सत्ताबाट बाहिरिने भएका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २१, माओवादीका ८ र राप्रपाका २ सांसदले अधिकारीलाई विश्वासको मत दिएका थिए ।

गण्डकीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिल्दा बहुमत पुग्छ । कांग्रेसका २७ र माओवादीका ७ (सभामुखबाहेक) मिल्दा सहज बहुमत अर्थात ३४ सांसद हुन्छन ।

मनाङबाट दोस्रो पटक स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीसहित ३५ संसद हुन्छन ।

लुम्बिनीका मुख्यमन्त्रीको पद पनि धरापमा परेको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी पुस २७ गते मुख्यमन्त्री बनेका थिए । माघ २८ मा सरकार विस्तार गरेका थिए । तर, फागुन दोस्रो सातामै मुख्यमन्त्री गिरीको पद धरापमा परेको छ ।

८७ सदस्यीय प्रदेशसभामा ५८ सांसदको समर्थन थियो । लुम्बिनीमा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा, नागरिक उन्मुक्तिका ४–४, जसपा, जनमत र लोसपाका ३–३ स्वतन्त्र २ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा १–१ सांसद छन् ।

‘केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि प्रदेशमा त्यसको प्रभाव स्वभाविक पर्ने नै भयो’ माओवादीका एक नेताले भने, ‘ओली प्रवृत्तिसँग काम गर्न साह्रै गाह्रो भयो । नयाँ समीकरणअनुसार अब केन्द्रदेखि प्रदेशसम्मै नयाँ ढंगले अघि बढ्छौँ ।’

चार प्रदेशका मुख्यमन्त्री सुरक्षित
मधेस, वाग्मती र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई भने नयाँ राजनीतिक समीकरणले कुनै फरक नपर्ने भएको छ । मधेस प्रदेशमा जसपा, बाग्मती तथा कर्णाली प्रदेशमा माओवादीका मुख्यमन्त्री छन् । यी प्रदेशमा एमालेको सहयोग विनै आठदलीय गठबन्धनबाट बहुमत पुग्छ ।

मधेसमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा आठदलीय मोर्चाका ७६ सांसद छन् । वाग्मती प्रदेशमा माओवादी केन्द्रका शालिकराज जम्कट्टेल मुख्यमन्त्री छन् ।

बागमतीमा पनि नयाँ गठबन्धनको स्पष्ट बहुमत छ । कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन् । त्यहाँ पनि नयाँ गठबन्धन स्पष्ट बहुमतमा छ ।

सुदूरपश्चिम सरकारलाई राहत
राष्ट्रपति निर्वाचनमा बनेको नयाँ समीकरणले सुदूरपश्चिम प्रदेश सरकारलाई राहत मिलेको छ । एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकेपछि गत माघ २६ मा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए ।

एकीकृत समाजवादी सरकारमा सहभागी भए पनि दुई दलसँग विश्वासको मत लिन बहुमत छैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा आठदलीय गठबन्धनबाट दुई तिहाई मत छ । नयाँ गठबन्धन भएसँगै मुख्यमन्त्री शाह विश्वासको मत लिनेमा ढुक्क भएका छन् ।

प्रतिक्रिया दिनुहोस्