विराटनगर । नेपाली कांग्रेसले एमालेले प्रस्ताव गरेको प्रदेश १ को नामलाई समर्थन नगर्ने भएको छ । यसअघि एमालेले प्रस्ताव गरेको ‘कोशी’ नाम राख्न कांग्रेस सहमत भएको थियो ।

एमालेको प्रस्तावमा कांग्रेसका सांसद भूमिप्रसाद राजवंशीले समर्थन गरेका थिए । तर, उक्त समर्थन फिर्ताको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । प्रदेश १ को किरात लिम्बुवान सगरमाथा राख्न प्रदेशसभामा अर्को प्रस्ताव समेत दर्ता भएको छ ।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए ।
प्रदेशसभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । माओवादी केन्द्रले भने एमालेले राखेको कोशी प्रदेशको प्रस्तावमा संस्थागत असहमति जाहेर गर्दै मतदान गर्ने जनाएको छ ।











