Logo
Logo

साफ यू-१७ च्याम्पियनसिपमा खेल्ने नेपाली टोली घोषणा


630
Shares

काठमाडौं । बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेको जनाएको हो ।

यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने यस च्याम्पियनसिपमा रुसको टोली समेत सहभागी हुँदैछ ।
गत नोभेम्बरमा बंगलादेशमै भएको यू-१५ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो । यस पटक त्यसैलाई अपग्रेड गर्दै यू(१७ च्याम्पियनसिप हुन लागेको हो ।

च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ र लिगपछि धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।

नेपालले पहिलो खेल मार्च २० मा भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसँग मार्च २२ मा, तेस्रो खेल रुससँग मार्च २६ र अन्तिम खेलमा बंगलादेशसँग मार्च २८ मा खेल्नेछ । च्याम्पियनसिपको सबै खेल ढाकाको बीएसएस मोस्ताफा कमल स्टेडियम हुनेछ ।

नेपाली टोलीको गोलकिपरमा सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी छन् । त्यस्तै, डिफेन्डरमा अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु रहेका छन् ।

मिडफिल्डरमा माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ छन् भने फरवार्डमा दीपा रोकाया, वर्षा ओली, सेनु परियार छन् ।

प्रतिक्रिया दिनुहोस्