Logo
Logo

अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा ८ टोली सहभागी


252
Shares

भोजपुर । यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् ।

प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार प्रतियोगितामा नेपालभित्रका छ र बाहिरी दुई टिमको सहभागिता हुनेछ ।

जसमा युकेएफसी भारत र एभिनियर फुटबल क्लब क्यामरुन बहिरी टिमले सहभागिता जनाउनेछन् भने भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर नेपाली टिम हुनेछन् ।

अध्यक्ष सुवालले भने, ‘विगतमा सञ्चालन भएको प्रतियोगिता जिल्लाकै प्रतिष्ठा भएकाले यसलाई तोकिएको समयमा नै सञ्चालन गर्नका लागि सबैको सहयोगको अपेक्षा पनि गरेका छौँ ।’

सर्वाधिक राशिको प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख पाउने भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ

प्रतियोगिता सञ्चालनका लागि करिब रु ३२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता सञ्चालनका लागि विभिन्न निकायसँग सहयोगका लागि समन्वयसमेत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी र प्रचारप्रसारको काम सुरु गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग आयोजक पक्षले सहयोगको अपेक्षासमेत गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष सुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्