Logo
Logo

स्ववियुको गौरवमय इतिहास र वर्तमान



स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)लाई लिएर वीपी कोइराला भन्ने गर्थे– ‘विद्यार्थीहरूको मूल प्रवृत्ति परिवर्तन हो ।’

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले राजनीतिमा नयाँ बहसको सिर्जना गरेको छ । आगामी चैत ३, ५ र ८ गते त्रिविले निर्वाचन सम्पन्न गर्ने गरी आफ्ना गतिविधि अघि बढाइरहेको छ ।

विद्यार्थी आन्दोलन, स्ववियु स्थापना र यसको ऐतिहासिक पक्षलाई नजरअन्दाज गर्दा इतिहासमाथिको धोका हुन्छ । किनभने, नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको ठूलो भूमिका छ । ३० वर्षे पञ्चायती कालरात्रिमा यिनै विद्यार्थी संगठनले राजनीति जोगाएका थिए ।

त्रिचन्द्र क्याम्पस काठमाडौँमा अध्ययनरत गंगालाल श्रेष्ठलगायतका युवा विद्यार्थीहरूले विसं १९९३ देखि जहानिया राणा शासनविरूद्ध राजनीतिक अभियान सञ्चालन गरेका थिए । आन्दोलन सुरु गरेकै कारण वि.सं. १९९७ मा विद्यार्थी नेता गंगालालसहित चारजना योद्धाहरूलाई राणाहरूले फाँसी दिएका थिए ।

संगठितरूपमा नेपाली विद्यार्थीहरूले २००४ सालमा जयतु संस्कृतमको आन्दोलन गरेका थिए । यो आन्दोलन हुँदासम्म नेपालमा विद्यार्थी संगठनको स्थापना औपचारिक रूपमा भइसकेको थिएन । गंगालालको सहादत र यही आन्दोलनको ऊर्जाबाट प्रेरित भई २००६ सालमा अखिल नेपाल विद्यार्थी फेडेरेसनको स्थापना भएको थियो ।

२००४ सालको जयतु संस्कृतमको आन्दोलनदेखि आजसम्म आउँदा नेपाली विद्यार्थी आन्दोलनले करिब सात दशक आफ्नो यात्रालाई जारी राखेको छ । २००७, २०३६, २०४६, २०५२ देखि २०६२–६३ सालको दोस्रो जनआन्दोलनहरूमा विद्यार्थी मोर्चा अग्रभागमा उभिएको इतिहास साक्षी छ ।

विसं २०१७ मा राजा महेन्द्रले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएपछि दलहरुमाथि प्रतिबन्ध लाग्यो । त्यस्तो कठिन र संगीन समयमा चेतनाको बिगुल फुकेर जनताको मुक्तिका निम्ति विद्यार्थी संगठनहरूले क्रान्तिकारी जिम्मेवारी पूरा गरेका थिए । विद्यार्थी आन्दोलनकै भरमा पञ्चायतविरूद्ध जनता सचेत बनेको कुरा लुकाउन मिल्दैन ।

विसं २०२१ मा सुजन खरेलको नेतृत्वमा विष्णुमती नदीको किनारमा पुष्पलालले नेतृत्व गरेको नेकपा निकट अनेरास्ववियुको स्थापना भयो । अनेरास्ववियुकै नेतृत्वमा भएको आन्दोलनको कारण नेपाली विद्यार्थीहरूको साझा संस्था स्ववियुको स्थापना विसं २०२२ मा भएको थियो ।

कुनै पनि देशको विकास र समृद्धि त्यस देशको शिक्षा नीतिमा निर्भर पर्छ । शिक्षा नीतिले विकास र समृद्धिको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । किसानको समस्या विद्यार्थीले, व्यापारीको समस्या शिक्षकले, श्रमिकको समस्या किसानले बुझ्न सक्दैन ।

मतलब विद्यार्थीहरूका समस्या के हुन् ? नारी विद्यार्थीका समस्या के हुन् ? ती समस्या कसरी समाधान गर्न सकिन्छन् ? क्याम्पसका छात्राबासको अवस्था के छ ? क्याम्पस प्रशासन र स्ववियुबीचको सम्बन्ध कस्तो हुनुपर्छ ? क्याम्पस प्रशासन कत्तिको पारदर्शी र भरपर्दो छ ? आर्थिक, भौतिक संरचनाको अवस्था के छ ? यी सबै सवालहरूको बारेमा हामी विद्यार्थीले मात्र बुझ्न सक्छ ।

त्यसैले शिक्षाको नाममा हुने विकृतिको अन्त्य गर्न, संविधानले लक्षित गरेको शिक्षा नीति कार्यान्वयन गर्न, विद्यार्थीमैत्री, अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्न, गलत क्रियाकलापका विरूद्ध सतिसालझैँ उभिन र शैक्षिक क्षेत्रका गलत रवैयाका विरूद्ध खबरदारी गर्नका निम्ति स्ववियु सक्रिय हुँदै आएको इतिहास छ ।

स्ववियु के हो ?
स्ववियुका बारेमा विभिन्न बुझाइहरू छन् । यसको गरिमाप्रति विद्यार्थी आन्दोलन इमान्दार बन्नुपर्छ । विद्यार्थी आन्दोलन विगतको समीक्षा गर्दै अघि बढ्नपर्छ । विगतबाट पाठ सिक्दै स्ववियुलाई विद्यार्थी र क्याम्पस प्रशासनबीचको सेतुको रूपमा विकास गनुपर्छ ।

आज संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको छ । परिवर्तनविरोधी प्रतिगामी गतिविधिलाई निस्तेज पार्दै विद्यार्थी आन्दोलनलाई रचनात्मक बनाउने जिम्मेवारी पनि स्ववियुको हो ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको हकहितको रक्षाका निम्ति गठित संस्था हो । स्ववियु आम विद्यार्थीहरूको मागको सम्बोधनका निम्ति क्याम्पस प्रशासनलाई घच्घच्याउने विद्यार्थीहरूको साझा संस्था हो ।

विद्यार्थीको विपक्षमा क्याम्पस प्रशासनले गर्ने गलत निर्णयलाई सप्रमाण विद्यार्थीमाझ पुर्याउने काम स्ववियुको हुन्छ । स्ववियुको महत्व र भूमिकाका सम्बन्धमा कुरा गर्नुपर्दा विद्यार्थी आन्दोलनलाई छोड्न सकिन्न । किनभने, लामो समयको विद्यार्थी आन्दोलनको ऐतिहासिक उपलब्धि हो स्ववियु निर्वाचन ।

स्ववियु के होइन ?
दुःखका साथ स्ववियुको गौरवमाथि, औचित्यमाथि उठेका केही सार्वजनिक सवालहरूलाई स्मरण गर्न सकिन्छ । यति लामो इतिहास र गौरवगाथा बोकेको स्ववियु मुर्झायो भनिँदैछ । भ्रष्ट भयो भनिँदैछ ।

कसका कारण स्ववियु बदनाम भयो ? कसका कारण स्ववियुले विद्यार्थीहरूका समस्या सुन्न, बुझ्न र सम्बोधन गर्न सकेन ? विद्यार्थीहरूका समस्याभन्दा स्ववियुको नेतृत्वमा पुगेका नेता र विद्यार्थी संगठनहरूले आफ्नो स्वार्थलाई प्रधान ठान्दाको परिणाम हो भन्न कुनै असहज मान्नुपर्ने अवस्था छैन ।

क्याम्पस प्रशासनसँग मिलेर अनैतिक काम गर्नेहरू को हुन् ? स्ववियु सभापतिको हैसियतमा क्याम्पस हाताभित्र र बाहिर रहेर आर्थिक अपचलन गर्ने को हुन् ? सभापति बनेर सहरमा घर जग्गा जोड्ने को हुन् ? चप्पल लगाएर क्याम्पस छिरेकाहरूले घर जग्गा जोड्ने सम्पत्ति कहाँबाट प्राप्त गरे ? अब यस्ता प्रश्नहरूबाट स्ववियुलाई मुक्त गर्नेबेला भयो ।

के स्ववियु यस्तै हुन्छ ? यहाँ आन्दोलन हुन्छ, लेनदेन हन्छ । लेनदेन मिलाउने गरिन्छ । आन्दोलन सार्वजनिक सरोकारको विषय हो । तर, स्ववियु आन्दोलन फगत विद्यार्थी संगठनका नेताहरूको स्वार्थ केन्द्रीत बन्छ । स्ववियुको मर्म, भावना र औचित्य यो होइन ।

जब क्याम्पस प्रशासनसँग लेनदेनको कुरा मिल्दैन त्यसपछि ताला लगाउने काम गरिन्छ । के स्ववियुको काम यही हो ? होइन । कुरा मिलेपछि ताला खोल्ने, नत्र नखोल्ने ? यो स्ववियुको काम हो ? होइन ।

यस्ता कार्यहरू जो कसैबाट हिजोका दिनमा भए–सकिए । आयिन्दा यस्ता गतिविधि हुन नदिनका निम्ति विद्यार्थी नेताहरूको इमान्दार प्रयास रहनुपर्छ । विचार, सिद्धान्त र सामूहिक हितभन्दा पर पुगेर स्ववियुलाई नितान्त व्यक्तिगत भलाइका क्रियाकलापमा प्रयोग गर्न प्रवृत्तिका कारण स्ववियु बदनाम बनेको हो ।

त्यतिमात्रै होइन, सिंगो विद्यार्थी आन्दोलनको औचित्यमाथि प्रश्न उठेको हो । हिजोको विद्यार्थी आन्दोलन राजनीतिक परिवर्तनको सहयात्री बनेको थियो । आजको विद्यार्थी आन्दोलनले विगतको त्यो गरिमा, ओज र इतिहासलाई जोगाउनु त कता हो कता, उल्टै बदनाम बनिरहेको छ ।

पछिल्लो समय स्ववियुको औचित्यमाथि प्रश्नचिह्न खडा भएको छ । विद्यार्थी आन्दोलन कमजोर बनेको, विद्यार्थी आन्दोलन मुर्झाएको र सुस्ताएको खालका निराश अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण नगर्ने विद्यार्थी नेता हुन सक्दैनन् ।

स्ववियु र विद्यार्थी आन्दोलनलाई पुर्नताजकी गर्न पहल नगर्ने नेताहरूले भोलिका दिनमा देशको नेतृत्व कसरी गर्लान् ? टायर बाल्ने, चर्को भाषण गर्ने, अरूलाई गालि गर्ने, कमिसनमा रमाउने, हिँसात्मक गतिविधि गर्ने, गुण्डागर्दी गर्ने, भागबण्डा गर्ने संस्था स्ववियु होइन ।

स्ववियु युवाको राजनीति आशा, भरोसा र भविष्य बोकेको गौरवशाली संस्था हो । अघिल्लो पुस्ताले लडेर ल्याएको समाजवादी व्यवस्थालाई संस्थागत गर्ने मुख्य जिम्मेवारी युवा पुस्ताको हो । खासरी स्ववियु राजनीतिक क्षेत्रको नर्सरी हो । जो सुक्दै गएकोछ । जो मुर्झाएको देखिन्छ । जो अस्ताउन खोजेको देखिन्छ । अब विद्यार्थी नेताहरूले यतातिर ध्यान दिन ढिलो गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्