Logo
Logo

खुशीयालीमा सशस्त्रका डिएसपी



काठमाडौं । इन्सपेक्टरबाट डिएसपी बन्न १५ वर्ष र डिएसपीबाट एसपी बन्न सशस्त्र प्रहरीमा कम्तीमा १० वर्ष लाग्ने अवस्था छ । ३० वर्षे सेवाहद रहेकोमा यसरी २५ वर्ष दुई वटा पदमा जागिर बित्ने भएपछि सशस्त्र प्रहरी अधिकारीमा व्यापक नैराश्यता छ । तर, सशस्त्रको पछिल्लो निर्णयले संगठनमा केही उत्साह छाएको छ ।

सशस्त्र प्रहरीले हालै नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी केही नीतिगत सुधार गरेको छ । जसअनुसार सीमामा रहेका बिओपीलाई स्तरोन्नी गरी सीमा सुरक्षा गुल्म बनाएर त्यहाँ डिएसपीलाई खटाउन थालिएको छ । ४८ वटा बिओपीलाई गुल्म बनाउन लागिएको छ ।

सशस्त्र प्रहरीमा विगत राजश्व तथा भन्सार गुल्म थिए । बिना अध्ययन त्यसलाई खारेज गर्दा समस्या भएको थियो । त्यसमा सुधार गरी महत्वपूर्ण नाकामा डिएसपीको कमाण्डमा गुल्म खडा गर्न लागिएको हो । यससँगै सशस्त्रका डिएसपीहरुले इन्चार्जको अवसर धेरै पाउने भएका छन् । यसले सशस्त्रका डिएसपीहरुमा खुशीयाली छाएको छ ।

साथै सीमा सुरक्षा गुल्म, बिअ‍ोपी र बेसमा बदलीको समय पनि ६ महिना बनाइएको छ । यसअघि एक वर्ष थियो । ६ महिना बनाउँदा धेरैले इन्चार्जको अवसर पाउने भएका छन् । यसअघि पहुँचवालाहरु दुई वर्षसम्म एउटै कार्यालयमा बस्ने गरेका थिए ।

अर्काेतर्फ पूर्वानुमान सूची नै बनाएर कमाण्डमा पठाउन थालेपछि सशस्त्रका अधिकारीलाई सरुवाका लागि नेताका धाउनुपर्ने बाध्यता हटेको छ । सशस्त्र प्रहरीले यससम्बन्धि प्रष्ट मापदण्ड र कार्यविधि बनाएर सबैलाई समान र न्यायोचित अवसर दिने प्रणाली बनाएको छ । यसबाट नेतालाई खुशी बनाउँदै कमाइ हुने अड्डा पुग्ने अधिकारीको भने निदहराम भएको छ ।

प्रतिक्रिया दिनुहोस्