Logo
Logo

प्रहरी अस्पतालमा अख्तियारले थाल्यो छानबिन



काठमाडौं । नेपाल प्रहरी अस्पतालमा श्रृङखलाबद्ध रुपमा अनियमितता मौलाएको छ । मेडिकल व्यवसायीसँगको मिलेमतोमा हरेक सामानको खरिदमा अनियमितता हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।पछिल्लो समय एमआरई मेसिन तथा सि–आर्म मेसिन खरिदमा सेटिङ देखिएपछि आयोगले छानबिन थालेको छ ।

अहिले एफपिडी प्रविधिको ‘सी–आर्म’ आइसकेकोमा अस्पताल प्रशासनले सिसिडी प्रविधिको सि–आर्म उच्च मूल्यमा खरिद गर्न लागेपछि सेटिङ खुलेको हो । जिई कम्पनीबाट उत्पादित सि–आर्मलाई मिल्ने गरी ‘लक स्पेशिफिकेन’ बनाएर खरिदमा अनियमितता हुन लागेको हो । यसमा अस्पतालकी एआइजी डा.आशा सिंहको प्रत्यक्ष मिलेमतो छ ।

‘सी–आर्म’ मेसिन खरिदका लागि तयार गरिएको प्राविधिक स्पेशिफिकेशनका विभिन्न बुँदा जिआई कम्पनीको मात्र मिल्ने प्रष्ट देखिन्छ ।

एक करोड १८ लाख मूल्यमा नयाँ प्रविधिकै सुविधायुक्त ‘सी–आर्म’ मेसिन किन्न सकिनेमा अस्पतालले पुरानो प्रविधिको ‘सी–आर्म’ खरिद प्रक्रिया अघि बढाएको छ । टेन्डर आह्वान गर्दा बुँदा नं. ‘ए’ को ‘२’ मा ‘आउटपुट पावर सुड बी २.५ केडब्लु अर मोर’ लेखिएकोमा प्रिबिड बैठक पछि त्यो बुँदा संशोधन गरेर ‘आउटपुट पावर सुड बी एटलिष्ट २ केडब्लु अर मोर’ राखिएको स्रोत बताउँछ । त्यस्तै, २.५ किलोवाट वा त्यो भन्दा बढीको शक्ति दिने मेसिन हुनुपर्ने प्रावधानको ठाउँमा दुई वा त्यो भन्दा बढी किलोवाट शक्ति दिने मेसिन भए पनि हुने बनाइएको छ ।

‘सी—आर्म’ मेसिन ‘सिसिडी (चार्ज कपल्ड डिभाइस)’ र ‘एफपिडी (फ्ल्याट प्यानल डिटेक्टर)’ गरी दुई किसिमका प्रविधिका हुन्छन् । प्राविधिक स्पेशिफिकेनको बुँदा नं. ‘सी’ को ‘२’ मा ‘क्यामेराः सुड बी १के८१के प्रोग्रेसिभ स्क्यान मेडिकल ग्रेड वीथ इट्स इम्पुट एन्ड आउट पुट अफ १के८१के’ लेखिएको छ । यो पुरानो सिसिडी (१के८१के) एनालग प्रविधिको ‘सी—आर्म’ हो। यो ‘सी—आर्म’को बजार मूल्य बढीमा ८० लाख सम्म पर्ने जानकारहरु बताउँछन् ।

सिसिडी प्रविधिको यो ‘सी—आर्म’ले धेरै मात्रामा रेडिएसन फाल्छ । जसले बिरामी र त्यहाँ काम गर्ने चिकित्सकलाई क्यान्सर लगायत रेडिएसनका जोखिम हुन्छ । यस किसिमको डिजिटल ‘सी–आर्म’ ले कम मात्रामा रेडिएसन फाल्छ । एफपिडी मोडलको आधुनिक प्रविधियुक्त ‘सी–आर्म’ ले नतिजा (इमेज क्वालिटी) पनि राम्रो दिन्छ । यस्ता धेरै बुँदामा निश्चित कम्पनीलाई मिल्ने गरी संशोधन भएपनि अख्तियारले छानबिन थालेको हो ।

अस्पतालमा एमआरआई मेसिन खरिदमा पनि यस्तै लक्स स्पेशिफिकेसनमार्फत पाँच करोड हिनामिनाको प्रयास भइरहेको छ । यो विषयमा पनि अख्तियारमा उजुरी परिसकेको छ ।

अस्पतालकी प्रमुख एआइजी सिंह अनेक विवादमा पर्दै आएकी छिन् । यसअघि नपाएको ओहोदा लिएको आरोपमा उनीमाथि छानबिन भएको थियो । तर, कारबाही रोकाउन सफल भएकी थिइन् । अहिले अस्पतालको ठेक्कामा अख्तियारको छानबिन प्रभावित नभएमा उनको जागिर धरापमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्