Logo
Logo

जनयुद्धलाई ‘आपराधिकरण’ गर्न मिल्छ ?



युद्धले युगौं पिरोल्छ । युद्धका घाउहरू युगौं चर्चराइरहन्छन् । युद्धले हजारौंंको कोख रित्याउँछ, हजारौँको सिउँदो उजाड बनाउँछ, लाखौं अङ्गभङ्ग हुन्छन् । त्यसैले युद्ध प्रिय हुँदैन ।

युद्धबारे बन्ने प्रस्ततु धारणा मात्रै पनि उचित होइन । सही उद्देश्यका लागि हुने युद्ध जायज मानिन्छ । किनकी, युद्ध विद्रोहको अन्तिम र बाध्यात्मक रूप हुन्छ । अन्याय र अत्याचारविरूद्ध भएको विद्रोहको एकमुष्ठ रूप थियो– जनयुद्ध ।

जनयुद्धबारे युगौं बहस हुनेछ । स्वर्णिम युग कोरल्ने जनयुद्ध त्यसै विस्मृतिमा थन्किँदैन । जनयुद्धले स्थापित गरेका मूल्य र मान्यताहरू रहँदा होस् या नरहँदा जनयुद्धबारे बहस हुन्छ नै । किनकी, जनयुद्ध फगत चाहनाको उपज थिएन ।

जनयुद्ध चर्चा गर्न लायक छ । प्रशंसा गर्न पनि लायक छ । र, निन्दा गर्न पनि लायक होला ! जनयुद्धले कोरलेका मूल्य र मान्यताहरू आज हाम्रा जीवन–दर्शन बनेका छन् । जनयुद्धबाट स्थापित आयामहरू असंख्य फूलहरूको फूलबारी जस्तै सुन्दर छन् ।

युगान्तकारी परिवर्तनका अवयवहरूको व्यवस्थापन निहित व्यक्तिमाथि प्रतिशोध साँधेर हुँदैन । जनयुद्धका चोटहरूमा नुनचुक छरेर निहित व्यक्तिको स्वार्थ त पूरा होला तर देशले स्थायी समाधान पाउँदैन । युद्धको मुद्दा लाएर प्रचण्डहरूलाई जेल कोच्न त सकिएला तर जनयुद्धका घाउहरूले ओभाउने अवसर पाउँदैनन् ।

माओवादीको नेतृत्वमा भएको जनयुद्ध सम्झँदा कहाली लाग्छ । तर, जनयुद्धले स्थापित गरेका मूल्य र मान्यताहरू सम्झँदा आनन्दको स्वास फेर्न सकिन्छ । धन्य भन्न सकिन्छ । किनकी, जनयुद्धले नै हामीलाई नागरिक भएर बाच्ने स्वर्णिम अधिकार दियो ।

जनयुद्धमाथि प्रश्न गर्ने अधिकार पनि जनयुद्धले नै दियो । त्यसैले त जनयुद्ध र जनयुद्धले स्थापित गरेको व्यवस्थामाथि नै प्रश्न गर्ने हैसियत राख्छौं । हामी जनता आज रैती होइनौ, हाम्रो लागि हामी नै शासक भएका छौं । यस अर्थमा जनयुद्धलाई घृणामात्र गर्नु अन्याय हुन्छ ।

जातीय विभेद कसले अन्त्य गर्यो ? भनेर बिसे कामीलाई सोध्नु । महिला मुक्ति कसले गर्यो ? भनेर शेर्मानी भाउजूलाई सोध्नु । कमलरी–कमैया जिन्दगीबाट कसले मुक्ति दिलायो ? भनेर बुधनी दिदीलाई सोध्नु । जातीय मुक्तिका सन्दर्भमा कसले भूमिका खेल्यो ? भनेर आदिवासी जनजातिलाई सोध्नु । उनीहरूले भन्नेछन्– जनयुद्धको देन हो ।

राज्यविहीनताबाट कसले मुक्ति दिलायो ? भनेर ओलाङचुङगोलाबासीलाई सोध्नु । वर्गीय विभेदविरूद्ध विद्रोह गर्नुपर्छ भनेर कसले सिकायो ? भनेर गरिब, मजदुर र किसानलाई सोध्नु । सामाजिक, आर्थिक र राजनीतिक अधिकारका लागि कसले चेतना छर्यो ? भनेर एक–एक मानिसलाई सोध्नु । सहजै जवाफ दिने छन्– जनयुद्धले ।

गाउँ गाउँमा सिंहदरबार पुगेको छ । जनताले आँगनमै राज्यबाट प्राप्त हुने अधिकतम् सेवा सुविधा पाउन थालेका छन् । विकेन्द्रीकरण अर्थात संघीयता जनयुद्धले देखेको सपना होइन र ? घर आँगनमा राज्यले सेवा उपलब्ध गराउनु अपराध थियो ?

डा. रामवरण यादव, विद्यादेवी भण्डारी र रामचन्द्र पौडेल गाउँले किसानका सन्तान हुन् । जन्मदै राज गर्ने अधिकार पाएका राजपरिवारका सन्तान होइनन् । सम्मानित यी तीनै जनाले जन्मदै अभिभावकीय अधिकार पाएर आएका थिएनन् । जनताको छोराछोरीलाई राज्यको अभिभावकीय जिम्मेवारी सुम्पन सक्ने गणतन्त्रात्मक राज्य व्यवस्थाको परिकल्पना जनयुद्धबाट नै सम्भव भएको हो ।

चाहेको धर्म मान्न पाउने मानिसको जन्मसिद्ध अधिकार हुन्छ । जनयुद्ध नभएको भए स्वतन्त्रतापूर्वक धार्मिक आस्थामा रमाउने अधिकार कसले पाउँथ्यो ? राज्यले लादेको धर्म मान्नुपर्ने बाध्यताबाट कसले मुक्ति दियो ? फरक–फरक धर्ममा आस्था राख्नेहरूलाई एउटै धर्म मान्न बाध्य पार्ने व्यवस्था अन्त्य गरेर धर्मनिरपेक्षताका लागि जनयुद्धले खेलेको भूमिका क्षणमै बिर्सन कसरी सम्भव छ ?

आज हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागी सुनिश्चित छ । स्थानीय सरकारमा प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिर्वाय निर्वाचित हुन्छन् । राज्यका सबै अङ्गमा आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित भएको छ । जनयुद्धले समानतामा आधारित समतामूलक समाज निर्माणका लागि समानुपातिक समावेशी प्रतिनिधित्वको परिकल्पना नगरेको भए यो सम्भव थियो ? पक्कै थिएन ।

यसरी हेर्दा जनयुद्ध र जनयुद्धका उपलब्धीहरू जति सुन्दर अरू केही देखिन्न । तर आज, जनयुद्धलाई नै ‘आपराधिकरण’ गर्न खोजिँदैछ । जनयुद्धका उपलब्धीहरू मास्न खोजिँदैछ । आमूल परिवर्तनका लागि जनयुद्धमा होमिएकाहरूलाई अपराधी ठहर्याउने दुष्प्रयास हुँदैछ । सुन्दर समाज निर्माणका लागि प्राण अर्पण गरेका शहीदहरूलाई अपमान गर्ने कुचेष्टा हुँदैछ ।

जनयुद्धका नेतृत्व हुरहुरती भाग खोस्न संसद् भवन र सिंहदरबार छिरेका होइनन् । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, २०६२–६३ को जनक्रान्ति र संविधानसभाको निर्वाचन हुँदै यहाँसम्म आइपुगेका छन् । र, राज्यलाई सही तरिकाले यहाँसम्म ल्याइपुर्याँएका छन् । यो ऐतिहासिक योगदानको अवमूल्यन गर्नु उचित हुँदैन ।

जनयुद्धका घाउहरू आलै छन् । संसदीय राजनीतिमा आएपछि जनयुद्धका नेतृत्वले मल्हमपट्टी गर्न नचाहेको यर्थाथ हो । सपना देखाउनेहरूको सपनै बदलिएको पनि सत्य हो । जनयुद्धका नेतृत्वको विगत गर्व गर्न लायक छ । तर, वर्तमान एकपल सम्झन पनि सकिन्न । तर, जनयुद्धका नेतृत्व पतन भए भन्दैमा ‘जनयुद्ध अपराध थियो’ भन्नु अर्को गल्ती हुन्छ, हजारौं शहीदमाथि अपमान हुन्छ । वर्तमान व्यवस्थाको अवमूल्यन हुन्छ ।

दिवंगत विद्धान प्रदीप गिरीले जनयुद्धबारे भनेका थिए– ‘क्रान्तिका नायकको पतनसँग क्रान्तिको पतनलाई जोड्नु हुँदैन । जनयुद्धले स्थापित गरेका मूल्य र मान्यताहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व हुन् । यस अर्थमा जनयुद्ध ठीक थियो । जनयुद्धका उपलब्धीहरू ऐतिहासिक उपलब्धि हुन् । आज जनयुद्धका नायकहरू पतन भए भन्दैमा जनयुद्धले स्थापित गरेका मूल्य र मान्यताहरू पतन हुँदैनन् ।’

यसरी हेर्दा, आज जनयुद्धका नायकहरू पतन भएका छन् । तर, जनयुद्धले स्थापित गरेका मूल्य र मान्यताहरू पतन भएका होइनन् । अझै सान्दर्भिक छन् र हुनेछन् । यस अर्थमा जनयुद्धप्रति नकारात्मक धारणा बनाउनु न्यायपूर्ण हुँदैन । आफैले पाएको अधिकारमाथि अन्याय हुन्छ ।

सुरुमै उल्लेख गरियो । जनयुद्धका क्रममा अनेकौँ चोटहरू बनेका छन् । ति चोटहरूमा मल्हमपट्टी लगाउने बेला हो । सबैका घाउहरू सेक्नु छ । हजारौं उपलब्धीहरूलाई आत्मसाथ गर्दै सत्यहरू निरूपण गरेर भए पनि दुखेका चित्तहरू माझ्दै मेलमिलापको बाटो रोज्नु छ ।

युगान्तकारी परिवर्तनका अवयवहरूको व्यवस्थापन निहित व्यक्तिमाथि प्रतिशोध साँधेर सम्भव हुँदैन । युद्धका चोटहरूमा नुनचुक छरेर निहित व्यक्तिको स्वार्थ त पूरा होला तर देशले स्थायी समाधान पाउँदैन । आज जनयुद्धको मुद्दा लाएर प्रचण्डहरूलाई जेल कोच्न त सकिएला तर जनयुद्धका घाउहरूले ओभाउने अवसर पाउँदैनन् ।

जनयुद्ध माओवादीको नेतृत्वमा भएको थियो । तर, जनयुद्धका मुद्दाहरू हामी सबैका थिए । त्यसैले त जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराइएको थियो । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउनुको अर्थ ‘जनयुद्धसँग सम्बन्ध राख्ने सबै विषयहरू हामीले आत्मसाथ गर्यौं’ भन्ने थियो । अर्थात, जनयुद्धसँग जोडिएका सम्पूर्ण समस्या हामी सबैका साझा हुन् । र, हामी सबैले समाधान गर्नुको विकल्प हुँदैन ।

(प्रस्तुत लेखमा प्रयोग गरिएको स्केच नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्