Logo
Logo

प्रहरीमा दुई लाख कान्ड



काठमाडौं । नेपाल प्रहरीका केही भ्रष्टाचार प्रकरण आन्तरिकरुपमै मिलाउने प्रयास भएको छ । उपत्यकाकै केही बृत्तमा डिएसपीले लाखौं घुस असुलेको प्रमाण भेटिए पनि कारबाही हुनसकेको छैन । सातदोबाटो बृत्तका तत्कालीन डिएसपी मदन केसीले निर्दाेष व्यक्तिलाई लागुऔषध मुद्दामा फसाएको पाइएको छ ।

त्यसवापत दुई लाख रुपैयाँ लेनेदन भएको थियो । जसमा संलग्न एक पूर्व हवल्दार पक्राउ परे पनि मुख्य व्यक्तिहरू पक्राउ परेका छैनन् भने दोषी प्रहरीमाथि पनि कारबाही हुनसकेको छैन ।

प्रेम सम्बन्धको विवादमा एक युवकले प्रेमिकाका आमा–बुवालाई योजनाबद्धरुपमा फसाएका थिए । त्यसका लागि आर्थिक चलखेलसमेत भएको थियो । तल्लो तहका प्रहरीको मिलेमतो प्रष्ट भइसकेको छ । छानबिन सुरु भएपछि केही प्रहरीले त राजीनामा दिइसकेका छन् । यो विषयमा विस्तृत छानबिन हुनसकेको छैन ।

त्यस्तै, बानेश्वर बृत्तका डिएसपी निशान श्रीवास्तव पनि अनेक घुसकाण्डमा परिसकेका छन् । मानव बेचबिखन मुद्दाका अभियुक्तलाई छुटाउन पैसा लिएको तथा चोरीका अभियुक्तलाई मुद्दा नचलाई छाडेको विषयमा पनि सामान्यबाहेक विस्तृत छानबिन हुन सकेन । प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन इकाईले नै घटाउन दबाउन लागिपरेको छ ।

त्यस्तै, सोह्रखुट्टे बृत्तका डिएसपी गणेश बम तथा दरबारमार्ग बृत्तकी कोपिला चुँडालले पनि रात्रिकालीन व्यवसायीलाई दुःख दिन थालेका छन् । हप्ता बुझाउनेलाई गल्ती गर्दा पनि केही नगर्ने र अन्यलाई अनावश्यक दुःख दिने गरेको व्यवसायी बताउँछन् । उनीहरुले भारतीय पर्यटकलाई हनी ट्रयापमा पारेर लुट्नेलाई समेत जोगाउँदै आएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्