Logo
Logo

रविको निर्णय उल्ट्याउँदै, पैसा असुल्दै…



काठमाडौं । करिब एक महिनादेखि १६ मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले सम्हालिरहेका छन् । मन्त्रिमन्डल विस्तार हुन नसक्दा मन्त्रालयका नियमित कामसमेत अवरुद्ध छन् ।

तर, ती मन्त्रालयमा पनि आर्थिक चलखेल भने रोकिएका छैनन् । खासगरी कर्मचारी सरुवा गरेर पैसा असुल्ने धन्दा व्यापक भएको छ । जसबाट प्रधानमन्त्रीको सचिवालयमा कार्यरत प्रचण्ड निकट कर्मचारीहरु मालामाल भएका छन् ।

हालै गृह मन्त्रालय, संघीय सहरी विकास मन्त्रालयलगायत निकायमा धमाधम कर्मचारीको सरुवा गरिएको छ । गृहमा त दुई महिनामै सिडिओलाई हटाइएको छ । यसअघि रवि लामिछानेले मापदण्ड बनाएर बिना चलखेल सिडिओको सरुवा गरेर प्रशंसा कमाएका थिए । तर, त्यो सरुवा दुई महिना पनि टिक्न पाएन । प्रचण्डको सचिवालयले आर्थिक चलखेलका आधारमा गत बिहीबार ११ जिल्लाका सिडिओ हेरफेर गरेको छ ।

जसअनुसार पाँचथरका गणेश गैरे, धनकुटाकी लीलाकुमारी केसी, दोलखाका शेखर पौड्याल, रामेछापका शोभाकर रेग्मी, लमजुङका वसन्तराज पुरी, पर्वतका चित्रागत बराल, बागलुङका गणेश पौडेल तथा प्यूठानका बेदप्रसाद अर्यालमाथि अन्याय भएको छ ।

सहसचिवलाई सिडिओमा पठाउने नाममा यसरी दुई महिनामै सिडिओ हेरफेर गरिएको छ । सहसचिव मेखबहादुर मगरातीलाई पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, अनिता निरौलालाई रामेछाप, बेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्यूठान, रामकुमार महतोलाई जाजरकोट तथा थानेश्वर गौतमलाई धनकुटा पठाइएको छ । उनीहरु सबै प्रचण्डको सचिवालयमार्फत सिडिओमा गएको स्रोत बताउँछ । कतिपय त आर्थिक चलखेलका आधारमा सिडिओमा गएको एक अधिकारी बताउँछन् ।

गृह मन्त्रालयमा रवि लामिछाने हुँदा थोरै भए पनि सुधार सुरु भएको थियो । तर, ती सबै भत्किँदै गएका छन् । सुरक्षाकर्मी फेरि मन्त्रालयमा फर्काइएको छ भने सुराकी भत्ता तथा आर्थिक सहायताको नाममा पनि अनियमितता फस्टाएको छ । खासगरी प्रधानमन्त्रीका पिए नवराज ढुंगानाले यी सरुवामा चलखेल गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्