Logo
Logo
टिप्पणी

बालेनको चिसो सडकमा मिटरब्याज पीडितको तातो आँसु



काठमाडौं । न्याय माग्दै मधेसबाट पैदल हिँडेका मिटरब्याज पीडितहरू ११ दिनपछि सोमबार संघीय राजधानी काठमाडौंको आइपुगे । संघीय राजधानीमै आन्दोलन नगरी सरकारले नसुन्ने भएपछि बाध्य भएर उनीहरू काठमाडौं आएका हुन् ।

पाइताला फुटाउँदै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूको चाहना थियो– खुलामञ्चबाट सिंहदरबारले सुन्ने गरी पीडा पोख्ने । सरकारको कानको जाली फुट्ने गरी चिच्याउने ! पीडा सुनाउने । र, गुहार माग्ने । त्यसैले काठमाडौं आउनसाथ सिधै खुलामञ्चतर्फ लागे ।

खुलामञ्चलाई जनताको मञ्च भनेर चिनिन्छ । उनीहरूलाई पनि लागेको थियो– खुलामञ्च हाम्रो पनि हो । हाम्रो लागि पनि खुला छ । तर, खुलामञ्चमा पस्न लाग्दा उनीहरूमाथि काठमाडौं महानगर जाइलाग्यो । नगरप्रहरीले गेटमा चाबी लगाएर खुलामञ्च बन्द गरिदियो । सिंहदरबारलाई पीडा सुनाउन आउँदा अर्काे पीडा थपियो ।

अर्को पीडा थपिएपछि उनीहरू चिच्याए– ‘खुलामञ्च खुला गर, खुला गर, खुला गर । खुलामञ्च हाम्रो हो, हाम्रो हो, हाम्रो हो ।’

११ दिन पैदल हिँड्दाको थकान । भोक । प्यास । तरपनि आकाशमा ताराहरू नचम्केसम्म, स्वर नसुकेसम्म कराइरहे, चिच्याइरहे । तर, काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सुन्दै सुनेनन् । खुल्दै खुलेन खुलामञ्चको गेट ।

जाउँ त कहाँ जाउ ! खुलामञ्च त खुला भएन । घरको ढोका कसले खुला गरिदिने ! भोकै, प्यासै सडक किनारामा पल्टिए । रात त्यहीँ चिसो सडकमा कट्यो । बालेनको चिसो सडकले तातो आँसु झारिदियो । मन पोल्यो ।

जाउँ त कहाँ जाउ ! खुलामञ्च त खुला भएन । घरको ढोका कसले खुला गरिदिने ! भोकै, प्यासै सडक किनारामा पल्टिए । रात त्यहीँ चिसो सडकमा काट्यो । बालेनको चिसो सडकले तातो आँसु झारिदियो । मन पोल्यो ।

खुलामञ्च निषेधित क्षेत्र नभएको र हुन पनि नसक्ने मेयर बालेन आफै बताउँछन् । र, मिटरब्याज पीडितहरूलाई शिविर बनाएरै खुलामञ्चमा राख्ने गरिएको तयारी शंकास्पद भएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिन्छन् ।

बालेनको अभिव्यक्ति देख्दा–सुन्दा यस्तो लाग्छ– मिटरब्याज पीडितहरू पीडा र अन्यायको पोका बोकेर होइन बम र बारुदको पोका बोकेर आएका हुन् । र, त्यो पोका सिधै बालेनको कुर्सीमा फालिदिन्छन् ।

मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्न प्रस्ताव गरेको बालेनको दाबी छ । मिटरब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको तर नमानेको पनि उनी दाबी गर्छन् ।

तर, बालेनले हेक्का राख्नुपर्ने कुरा– मिटरब्याज पीडितहरू पूजा गर्न आएका होइनन् । पशुपतिनाथको दर्शन गर्न आएका होइन । र, शान्तिले शान्तिवाटिकामा बस्न पनि आएका होइनन् ।

उनीहरू त मिटरब्याज साहुले धर्म छाडेपछि आएका हुन् । अशान्तिले पिरोलिएर आएका हुन् । आफ्ना दुःख, पीडा सिंहदरबारलाई सुनाएर न्याय माग्न आएका हुन् । ‘गरिबको बोलिदिने कोही छैन चमेली’ भन्ने बालेनको सहरमा बोल्न आएका हुन् ।

बालेनलाई लागेको हुनुपर्छ– काठमाडौं मेरो हो ! यहाँ मैले जे भने त्यहीँ चल्छ ! जे गरेपनि हुन्छ ! जसो गरेपनि हुन्छ !

तर, बुझ्नुपर्ने कुरा– खुलामञ्च काठमाडौंको मात्रै होइन । देशका जुनसुकै ठाउँबाट आएर राज्यलाई आफ्नो आवाज सुनाउने थलो हो । सार्वजनिक ठाउँ हो । लोकतन्त्रमा सार्वजनिक ठाउँमा बसेर न्यायको लागि जसले पनि आवाज उठाउन पाउँछ । र, त्यही प्रयोजनको लागि बनको हो, खुलामञ्च ।

तर, बालेनले खुलामञ्च बन्द गरेर तानाशाही प्रवृत्ति देखाए । खुलामञ्च २०३६ सालको जनमत संग्रह घोषणासँगै राजनीतिक कार्यक्रम गर्ने थलो बनेको थियो । तर, २०७२ पछि खुलामञ्च काठमाडौं महानगरको अतिक्रमणको शिकार बनेको छ । र, अहिले खुलामञ्च राज्यसँग न्याय माग्ने जनताका कार्यक्रमका लागि बन्द हुन थालेको छ ।

पञ्चायती शासनकालमा राजाले बोल्नेका लागि खुला छाडेको खुलामञ्चमा बालेनले प्रवेशमा निषेध गरेका छन् । जनताको आवाजलाई निस्तेज गर्न खोज्नु लोकतन्त्रका लागि नै घातक हुन्छ । र, यो निन्दनीय छ ।

प्रतिक्रिया दिनुहोस्