Logo
Logo

अढाई वर्षपछि पारिवारिक जीवनको पुनःस्थापना



हाम्रो विवाह भएको पूरै दुई वर्ष बितिसक्दा पनि परिवारले साँच्चैको आकार लिन पाएको थिएन । बुढाले भूमिगत जीवनमा के–कस्ता दुःख–सुखका अनुभूति गरे, कति सार्थकता रह्यो, कस्ता खतरा मोल्नुपर्याे बुढीलाई थाहा छैन ।

बुढीले सानी बच्ची लिएर अरुका निम्ति काम गर्दा खपेको अनावश्यक, निरर्थक र अनुत्पादक दुःखको कुराको ज्ञान बुढालाई छैन । विभिन्न परिस्थिति र कारणले गर्दा फेरि आ–आफ्ना काम, भोगाई, जीवन–जगतबारेको बुझाइलाई फर्केर हेर्ने, समीक्षा गर्ने बेला आयो । र यो कामको निम्ति काठमाडाँैमै आधारभूमि खोज्न थालियो । हामी काठमाडौँ फर्कियौँ ।

एक–अर्कालाई काठमाडौं फर्कन कुनै करकाप गर्नु परेन । करिब करिब एउटै समयतिर हामी फेरि काठमाडौं फर्कने सोचमा पुग्यौँ । काठमाडौँ मेरो जन्मस्थल र कर्मस्थल पनि भएकाले आफन्त र साथीहरु प्रशस्त थिए । तर अबको काठमाडौँ मेरो निम्ति नौलो र बिरानो ठाउँजस्तै भइदियो । कुनै स्पष्ट योजना छैन । कहाँ बस्ने कुनै टुंगो छैन । जीवनको हरेक क्षेत्रमा नयाँ तरिकाले सोच्नुपर्ने, नौलो थालनी गर्नुपर्ने भयो । हामी पहिलेजस्तो एक्ला–एक्लै पनि थिएनौँ ।

म बच्चा लिएर सरासर माइतीमै गएँ । सरोजको बारेमा ‘अफ्रिका गएको’ भन्ने हल्ला पिटाइएको थियो । फर्किँदा त्यहीअनुसारको नाटक गर्नुपर्ने बाध्यता थियो । त्यसैले एकैचोटी बाहिर ननिस्किइ केही समय युवा प्रगतिशील विद्यार्थीहरुसँगै कहिले कसको कहिले कसको डेरामा भूमिगत भएरै बसे । नरनाथ लुइँटेल, लीलाराज कार्की आदि मित्रहरुसँग बसेछन् ।

काठमाडौं फर्केर पनि हामी एकै ठाउँमा बस्न सकेका थिएनौँ । पछि मेरो स्कुल नजिकै भुरुङखेलमा नै एकथरि विद्यार्थी साथीहरुले प्रयोग गरेर बाँकी रहेको सानो कोठा हाम्रो निम्ति मिल्ने भयो । दुई, अढाई वर्षपछि पारिवारिक जीवनको पुनःस्थापनाले हामीलाई एउटै परिवारजस्तो बनायो ।

बुवा–आमालाई त थाहा थियो यथार्थ । बुवा–आमालाई साह्रै अप्ठेरो नहोस् भनेर पनि नाटकै खेल्नु थियो । दुई वर्ष त्यत्तिकै हराएको मान्छे एकैपल्ट देखापर्दा मान्छेलाई कसरी के भन्ने ? नाटकको ‘स्क्रिप्ट’ नै बनाउनु थियो ।

मलाई भने यस्तो नाटकको त्यति जरुरी भएन । तर सबै कुराको नयाँ व्यवस्था गर्नुपर्ने भयो । के काम गर्ने ? बच्चासमेत आफू पनि पालिनु छ । बाहिर जाने बेला भन्दा अझै गरिब भएकी थिएँ यतिबेला । साथीहरुको त धनी नै भए पनि यसपालि म काठमाडौँ फर्कनु कसैको सरोकारको विषय हुने कुरै भएन ।

यस्तै बेला आफूले छोडेर गएको स्कुलका नयाँ प्रिन्सिपल र पुराना साथी मोहन श्रेष्ठ घरसम्मै आएर मलाई पुनः स्कुल फर्किन र काम गर्न आग्रह गरे । खुसीकै कुरा थियो, अरु काम खोज्न परेन । तर काम थालेको केही दिनमै त्यो स्कुल पनि चिसो नै लाग्न थाल्यो, बिरानो लाग्न थाल्यो ।

पुराना शिक्षक साथीहरुको ठाउँमा नयाँ अनुहार थिए । बानी पर्न सहज भएन । पहिलेझैँ सबैलाई आफ्नै ठानेर व्यवहार गर्दा पनि के–के नमिलेको जस्तो हुन थालेपछि बल्ल थाहा भयो– पार्टीभित्रको बेमेल र फुटले त यहाँ पनि असर पारिरहेको रहेछ । दुई धारका साथीहरुबीच ‘स्यान्ड्वीच’ जस्तो पो भएछु । तर आफ्नै आवश्यकताका कारण ज्यालादारी शिक्षककै रुपमा भए पनि स्कुल नछाड्ने निर्णय गरेँ ।

स्कुलको स्थापनाकालदेखि दुःख–सुख झेल्दै काम गरेको कुरा धेरैलाई थाहा थियो । तर साँचो कुरा थाहा पाउने मान्छे कहिलेकाहीँ व्यावसायिक संस्थाका निम्ति सजिलो हुँदैन । त्यसैले लामो समय यो ठाउँमा टिक्न सक्छु कि सक्दिनँ, ठेगानको कुरा भने थिएन । पछि थाहा पाएँ– म त्यहाँ फर्केकोमा कसै–कसैलाई असजिलो नै लागिरहेको रहेछ ।

उता सरोजलाई पनि घर फर्केर मिलाउनुपर्ने केही कुरा मिलाएर, विदेशबाट फर्केको अभिनय गर्नु थियो । विदेशबाट फर्केपछि कोसेली ल्याइदिने चलन थियो । तर उनको सुटकेश बाटैमा हराएको कुरा मिलाएर घर फर्किनुपर्याे । लुगा भने यतै केही नयाँ किनेर लगाए ।

भूमिगत हुनुअघि दुई जना मिलेर चलाइरहेको क्लिनिक भरत दाइ एक्लैले चलाइरहनुभएको थियो । त्यहीँ जम्मा भएको अलिअलि पैसा भरत दाइले निकालेर त्यो नयाँ लुगाफाटा किन्ने काम गर्नुभएको थियो ।

‘अफ्रिकाबाट आएको’ भन्ने कुरा साँच्चैजस्तो देखियोस् भनेर अफ्रिकनहरुले लगाउनेजस्तो चर्को रङको झिलीमिली लुगा किनेर ल्याएको थियो । तर ठ्याक्कै त्यस्तै लुगा लगाएर घण्टाघरमुनि बसेर एक जनाले गीत गाउँदै मागिरहेको देखेपछि सरोजले त्यो ‘अफ्रिकन’ लुगा धेरै लगाएनन् । पछिसम्म साथीहरुका बीचमा यो हाँसोको कुरा भइरह्यो ।

सरोजले पनि काम खोज्नु थियो । साथी केदार बराल पाटन अस्पतालमा काम गर्दै हुनुहुन्थ्यो । उहाँको सम्बन्ध अस्पतालको प्रशासनसँग राम्रै थियो । त्यही सम्बन्ध काम लाग्यो । एक–दुई महिनापछि नै पाटन अस्पातालमा काम सुरु भयो– डाक्टरकै रुपमा ।

काठमाडौँ फर्केर पनि हामी एकै ठाउँमा बस्न सकेका थिएनौँ । पछि मेरो स्कुल नजिकै भुरुङखेलमा नै एकथरि विद्यार्थी साथीहरुले प्रयोग गरेर बाँकी रहेको सानो कोठा हाम्रो निम्ति मिल्ने भयो ।

कोठा सानै थियो, हामीसँग सामान पनि धैरै थिएन । एउटै कोठामा एक कुनामा स्टोभ राखी पकाउने ठाउँ बनायौँ । खाट त पुरानै थियो, माइतीमा छोडेको उही पुरानो खाट ! हामी दुई जनामात्रै त साँच्चैको परिवारका रूपमा बस्नै पाएका थिएनौँ । अब दुईबाट तीन भइसकेका थियौँ । सरोजको घरमा मेरो निम्ति ढोका अझै खुलिसकेको थिएन ।

सरोजको काम मिलेपछि, हामी सानै कोठामा भए पनि खुसी नै भयौँ । दुई, अढाई वर्षपछि पारिवारिक जीवनको पुनःस्थापनाले हामीलाई एउटै परिवारजस्तो बनायो ।

सानो कोठामा दुःख–सुखले एउटा सानो परिवार चल्दै थियो । तर एकपल्ट अचानक डा. मथुरा श्रेष्ठ केही कामले हाम्रो कोठा खोज्दै पुगनुभयो । हाम्रो बसाइ देखेपछि उहाँ छक्क पर्नुभयो । फ्याट्ट भन्नुभयो– ‘कस्तो दुःख गरेर बसेको ? यो त भएन ! बाँसबारीमा मेरो पुरानो घर खाली छ, त्यहीँ बस्न आउनु…’

उहाँको सदासयता बुझ्न सकिन्थ्यो । हामीले कृतज्ञता व्यक्त गर्यौं । तर उहाँलाई हाम्रो हालत देख्दा जति दुःख भएको थियो, हामी आफैँलाई भने त्यस्तो लागेको थिएन । त्योभन्दा धेरै अप्ठ्यारो र खतरनाक स्थिति अनुभव गरेर हामी फर्केका थियौँ । र हाम्रा अपेक्षा र मागहरु बढेका थिएनन् । मथुरा सरले यी पंक्तिहरु पढ्न नपाइ छाडेर गइसक्नुभएको छ । उहाँको सद्भाव र स्नेह सम्झिरहेका छौँ ।

यसरी हाम्रो यात्राले अर्को मोड लियो । म राजनीतिक काममा फेरि फर्किएँ । थपिँदै गएका जिम्मा लिँदै गएँ । काठमाडौँमा पार्टीभित्र देखिएका असन्तुष्टि र विवादलाई पचाउँदै विस्तारै पाइला चाल्न थालेँ ।

बेफुर्सदी हुनकै निम्ति सरोजको निम्ति त डाक्टरी पेसा नै पर्याप्त थियो । तर राजनीतिले उनलाई पनि छोडेको थिएन । पार्टीभित्रका दुई धारका बीचमा मध्यस्तकर्ता साथीहरुको टोलीमा उनी पनि हुन्थे । क्रान्तिका मिहीन चुनौतीहरुसँग हामी दुवै नै झन्–झन् परिचित हुँदै गयौँ… ।

प्रतिक्रिया दिनुहोस्