Logo
Logo

जे मन लाग्यो, त्यही किन बोल्छन् बालेन ?



गत शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमा लेखे– ‘आजदेखि सिंहदरबारको फोहोर उठ्दैन, साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

त्यही दिन नै उनले अर्काे स्टाटस लेखे– ‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म, नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’

मेयर साहको यस्तो अराजक शब्दप्रति काठमाडौँवासी लज्जित छन् । उनको बौद्धिक दरिद्रता देखेर सचेत वर्ग आश्चर्यचकित भएका छन् । त्यति मात्र होइन, उनको अर्को स्टाटसले उनी कतिसम्म गिर्न सक्छन् भन्ने पुष्टि गरेको छ ।

हुन त सामाजिक सञ्जालमा मेयरका स्टाटसहरू हेर्दा अराजनीतिक र अराजक देखिन्छ । उनी कहिले ‘राजा चाहिन्छ भन्ने, राजा फर्काउँछु भन्ने राजा मार्छु भन्ने तीनवटै सरकारमा, हामी जनता सधैँ सास्तीमा’ भनेर जनताका पक्षमा लेखेको देखाउन पुग्छन् ।

कहिले ‘अँध्यारो रातपछि जहिले बिहानी आउँछ ? विदेशीवादमाथि कसले सिरानी लाउँछ ? देश के हो ? जमिन कि मान्छे ? अन्नको मालिक किसान कि भान्से ?’ भन्दै विदेशीको भक्ति गर्नेहरूविरुद्ध अर्काे झटारो हान्छन् ।

नयाँ सांसदहरूलाई त उनले नयाँ गफाडीकै संज्ञा दिएका छन् । देशको हालत उही पुरानो अवस्थामा रहेकामा दुःख व्यक्त गर्दै सायद तिनै सांसदलाई पुराना व्यापारी भनी अथ्र्याउँछन् ।

गत मङ््सिरमा उनै साहसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले भेट गरेपछि पूर्वउपप्रधानमन्त्री डा भीमबहादुर रावलले प्रश्न उठाएका थिए– ‘अमेरिकी राजदूतसँंग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन, स्पष्ट गरियोस् ।’

त्यसका प्रत्युत्तरमा पटकपटक विदेश गइरहने साहले ‘उहाँ (राजदूत) ले …परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौँ ।…’ भनी जवाफ दिएका थिए ।

अझ साहले पूर्वरक्षामन्त्री डा रावलको सोझो प्रश्नको उत्तर नदिई ‘हामीलाई तपाईँहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छ्रैन’ भनी अरू बाङ्गा कुरा पनि लेखेर आफूलाई चरम अराजकवादी भनाएका थिए ।

मेयरजस्तो व्यक्तिले हाकाहाकी विदेशी त्यसमाथि उत्तर र दक्षिणको नामै लिएर देश चलाएको आरोप लगाउँदा सरकार, सत्तारुढ राजनीतिक दलका नेताहरु चुप लागेको देखेर ‘मौनं सम्मति लक्षणम्’ भन्नुपर्ने हो कि भन्ने पनि लाग्छ ।

नेताहरूलाई सिसडोलमा लगेर पुर्ने भावको साहको भनाइमा नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले प्रतिवाद जनाए पनि त्यो अरण्यरोदन जस्तो मात्र देखियो ।

कुनै बेला जनताको विद्रोहले बालेन र हर्कको जन्म हुन्छ भनी बोलेका तिनै शंकर पोखरेलले फोहर प्रकरणमा भने ट्विटरबाट काउन्टर दिँदै साहलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

‘महानगर प्रमुखको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको सङ्केत गर्छ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नैपर्छ’, ट्विटरमा भनेका छन् ।

नेपालमा विदेशीबाटै सरकार बन्छ भन्ने धारणा त डा. बाबुराम भट्टराईको पनि छ । अहिलेसम्म उनले आफ्नो त्यो धारणा खण्डन गरेका छैनन् । ‘नेपालको सरकारको साँचो त विदेशीसँग पो हुँदोरहेछ’, तत्कालीन प्रधानमन्त्री डा. भट्टराईले भनेका थिए ।

रमाइलो कुरो त नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले चैत १८ गते नवलपरासीमा भएको एक कार्यक्रममा बोलेको कुरा पनि डा. भट्टराईकै भावसँग मेल खान्छ ।

पूर्वमन्त्रीले प्रेस सेन्टर, नवलपरासी (बर्दघाट सुस्तापूर्व)को तेस्रो साधारणसभालाई सम्बोधन गर्दै नेपालको सत्ता नेपालीले नभएर अरू कसैले चलाइरहेको बताए थिए ।

उनले भनेका थिए– ‘देश अरू कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् । हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो विडम्बना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो ।’ (इकान्तिपुर डटकम, २०७९ चैत १८)

यस्तो बेला हाम्रा प्रधानमन्त्री प्रचण्डले जति खेर पनि भारत जान्छु, भारत पहिले जान्छु भनेर बेप्रसङ्गमा पनि बोलिरहेकामा के नै आश्चर्य भो र ? गइदिए भइहाल्यो । आएर भ्रमण सफल भयो भनिदियो भइहाल्यो । न इपिजीको रिपोर्ट बुझ्ने कुरा बोल्ने हो, न कालापानी, लिपलेक र लिम्पियाधुरा फिर्ता गर भन्न सकिने हो ।

अनि, एमालेका अध्यक्ष केपी शर्मा ओलीले जतिखेर पनि आफूलाई देशीविदेशी शक्तिले सत्ताबाट हटाए भनेर बोलेका कुरा कुन ठूलो भयो र ? विसं २०७४ का बेला शेरबहादुर देउवा भारत गएर हाम्रो आन्तरिक राजनीतिको कुरा गर्नु पनि हाम्रा लागि सामान्य नै थियो तैपनि एमालेले त्यही बुँदा पनि समातेर आफू राष्ट्रवादी हुने अर्काे मौका पायो र प्रधानमन्त्री हुने गरी चुनाव नै जित्यो ।

बालेनले भनेका कुरामा कति सत्यता छ, त्यो उनको कुरा हो । तर, मेयरजस्तो जिम्मेवार पदमा पुगेको व्यक्तिले यस्तो शब्द सामाजिक सञ्जालमा प्रयोग गर्न हुन्थ्यो वा हुन्थेन दशपटक सोच्नुपथ्र्यो ।

उनको यो अभिव्यक्ति चरम निराशाबाट उत्पन्न भएको हो । निराशाले मान्छेलाई आत्महत्याको बाटोसम्म पु¥याउँछ । बालेनद्वारा अभिव्यक्त यी शब्द आत्महत्याकै बाटो हुनसक्छ । नभए मेयरको जिम्मेवारीमा रहेको काम फटाफट गर्दै जाँदा जनताको मन जितिन्छ । यस्तो नकारात्मक सोचले आफैँलाई क्षति पु¥याउँदछ । नेपालीमा उखानै छ, ‘बोल्न पायो भन्दैमा प्याच्च नबोल्नु…।’

प्रतिक्रिया दिनुहोस्