Logo
Logo

तीन घण्टे परीक्षा प्रणाली खारेज गरौं



तीन प्रश्न– किन पढ्ने ? केका लागि पढ्ने र कसका लागि पढ्ने ?

पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो । सबै पक्षको समानान्तर विकासको प्रमुख आधार हो, शिक्षा । र, शिक्षित जनशक्ति आजको आवश्यकता ।

देशको सामाजिक, आर्थिक, राजनीतिक र समयसापेक्ष विकासका लागि शिक्षाको विकल्प छैन । त्यसैले शिक्षा सबैका लागि अपरिहार्य छ । शिक्षाविना मानव कल्पना पनि गर्न सकिँदैन ।

शिक्षाको मुख्य उद्देश्य व्यक्ति, परिवार, समाज हुँदै राष्ट्रलाई समृद्धि बनाउनु हो । देश निर्माण र समृद्धि बनाउने अभियानको औपचारिक सुरुवात विद्यालयबाट हुन्छ । त्यसैले विद्यार्थीलाई भन्ने गरिन्छ– देशका कर्णधार ।

तर, हाम्रा कर्णधारहरूको हबिगत भर्खरै सकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)ले देखाएको छ । एसईईको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आधा मिनेटको त्यो भिडियोले हाम्रो आधा शताब्दीको शिक्षाको अवस्था चित्रण गरेको छ । र, देशको दुर्भाग्यलाई इंगित गरेको छ ।

भिडियोको परिवेशले तराई मधेशको कुनै परीक्षा केन्द्र भन्ने जनाउँछ । भिडियोमा परीक्षार्थीलाई चिट चोराउनेहरूले प्रहरीलाई हैरान खेलाएका छन् । कबडी खेलेजस्तै । चिट चोराउन खोज्नेलाई लखेट्दा–लखेट्दा प्रहरी लखतरान । चोराउन जानेहरूलाई लाग्दो हो– यो हाम्रो दुश्मन हुन् ।

चिट चोराउन र चोर्न पाउने खुशी होलान् । चिटका भरमा अंक राम्रै आउला । तर, वास्तविक जीवनमा त्यसले कति अर्थ राख्छ ? जीवनमा कागजी प्रमाणपत्र होइन, सीप र क्षमताको मूल्याँकन हुन्छ ।

हाम्रो शिक्षा अंकमा मात्रै केन्द्रित छ । विद्यार्थीको एकमात्र र अन्तिम लक्ष्य पनि त्यही हुन्छ । सीप के हो भन्ने थाहै हुँदैन । राम्रो अंकको पछाडि दगुर्दा–दगुदै महत्वपूर्ण पाटाहरू छुटेको पत्तै हुँदैन । परीक्षा र त्यसको फल फगत एउटा पाटो मात्र हो । तर, दुर्भाग्य हाम्रो शिक्षा त्यसैमा अड्किरहेको छ ।

उक्त भिडियो सार्वजनिक भइसकेपछि त्यस विषयमा संसद्मा छलफल हुनुपर्ने हो । शिक्षामन्त्री र प्रधानमन्त्रीले एक्सन लिनुपर्ने हो । तर, यो विषय सामाजिक सञ्जालमा मजाकको विषय मात्रै बनेको छ ।

अर्को कुरा– चिट चोर्नु/चोराउनु हाम्रो बाध्यता पनि हो । यदि, विद्यालयमा राम्रो पढाइ भइदिएको भए पास हुन कुनै महाभारत गर्नुपर्ने थिएन । र, परीक्षा हाउगुजी बन्ने थिएन ।

नेपालीमा एउटा उखान छ– सरकारी काम, कहिले जाला घाम ।

सरकारी विद्यालयको अवस्था पनि उस्तै हो । शिक्षकहरू विद्यालयभन्दा बढी पार्टीको कार्यक्रममा दौडिन्छन् । हातमा कलम होइन, पार्टीको झण्डा हुन्छ । आफ्ना सन्तानलाई निजी स्कुलमा पढाउँछन् । गरिबका बालबच्चा पढ्ने सरकारी स्कुलमा पार्टीका झण्डा हल्लाउँदै तनखा बुझ्छन् !

पढाइ भए, नभएपनि जाँचदिनैपर्यो । पास पनि हुनैपर्यो । आफ्ना लागि मात्रै पास भएर पुग्दैन । घरपरिवार, आफन्त, समाज र देशका लागि पनि हुनुपर्छ । पढाइ नहुने स्कुल र नपढाउने शिक्षाको लागि पनि पास हुनुपर्ने बाध्यता छ अनि, चिट नचोरी धर ! त्यसैमाथि एसईई ।

दश कक्षाको अन्तिम जाँच पहिलेदेखि नै हाउगुजी बन्दै आएको छ । पहिला फलामे ढोका भनियो । अहिले पनि त्यो फलामकै छ । एसएलसी परिवर्तन भएर एसईई बन्यो । तर, सोचाइ परिवर्तन भएको छैन । एसएलसीको आतंक एसईईमा सरेको छ ।

भन्नैपर्दा, एसईई दश कक्षाको परीक्षामात्रै हो । योभन्दा बढी बुझ्न जरुरी छैन । यस्ता परीक्षा सधैं भइरहन्छ । तर, यसलाई सबैले ठूलो बनाइदिन्छन् । र, हाउगुजी बन्छ । प्रधानमन्त्रीसम्मले शुभकामना दिन्छन् । परीक्षामा केन्द्रमा प्रहरी राखिन्छन् । कलिलो मस्तिष्कमा ‘एसईई आतंक’ सिर्जना गरिदिन्छन् ।

परीक्षाको यो हाउगुजी र राम्रो अंक ल्याउनैपर्ने दबाब विद्यार्थीमा पर्छ । जसले मानसिक तनाव, व्याकुलता, अनिद्रालगायतका अनेकौँ समस्या निम्त्याउँछ । पढेर सबैकुरा जानेपनि परीक्षा हल छिर्नुअघि डर हट्दैन । राम्रो अंक ल्याउने चिन्ता हुन्छ । पढेर सिकेको भन्दा परीक्षामा राम्रो अंक ल्याउने तनावले सताइरहन्छ । र, राम्रो अंकका लागि विद्यार्थी चिटको सहारा लिन पुग्छन् ।

विद्यार्थीलाई स्कुलमा सिकेभन्दा पनि परीक्षाका कति अंक आउँछ भन्नेमा चासो हुन्छ । अरुको अपेक्षा पनि त्यही हुन्छ । शिक्षकमा समेत आफूले पढाएको विद्यार्थीले राम्रो ज्ञान र व्यवहार भन्दा उच्च अंक प्राप्त गरोस् भन्ने अपेक्षा हुन्छ । एसएलसी दिँदा केही शिक्षकले कसरी चिट चोर्ने भनेर सिकाएरै पठाउँथे !

यसले पनि हाम्रो शिक्षा परीक्षाको अंकमा मात्रै केन्द्रित भएको प्रस्ट हुन्छ । विद्यार्थीको एकमात्र र अन्तिम लक्ष्य पनि त्यही हुन्छ । सीप के हो ? भन्ने थाहै हुँदैन । राम्रो अंकको पछाडि दगुर्दा–दगुदै विद्यार्थीको महत्वपूर्ण पाटाहरू छुटेको पत्तै हुँदैन ।

परीक्षा र त्यसको फल फगत एउटा पाटो मात्र हो । तर, दुर्भाग्य अहिलेको हाम्रो शिक्षा त्यसैमा अड्किरहेको छ । एउटा व्यक्तिको भविष्य त्यही परीक्षाफलमा निर्भर भइरहेको छ ।

विद्यालयमा सिक्ने भनेको किताबी ज्ञानमात्रै हो । वर्षभरि किताब घोकाइन्छ । र, वर्षको अन्तिममा किताबमा भएको सूचना कतिसम्म याद गर्न सक्छन् भनेर जाँचिन्छ ।

यस्ता शिक्षा र परीक्षा प्रणालीले आवश्यक मेसिनको मात्र उत्पादन गर्छ । केही कक्षाहरू पास हुन्छन् । जब, सीपको महत्व थाहा पाउँछन् । सर्टमा यादस्वरूप लेख्छन्– खाडीमा भेटौँला ।

यस्ता शिक्षा र मूल्याँकन प्रणालीले हाम्रो शिक्षा बजारमा बिक्ने कागजमात्रै बनिरहेको छ । परीक्षाको लागि पढेर/पढाएर मात्रै पुग्दैन । मानिसलाई शिक्षित र क्षमतावान बनाउने जिम्मेवारी पनि बोक्नुपर्छ ।

मूल्याँकनका अनेकौँ विधि हुन सक्छन् । पाठ्यक्रममा विविध परिवर्तन आइरहेका छन् । पढाउने तरिका, पढ्ने विधि सबै वैज्ञानिक र आधुनिक हुँदै गएको छ । तर, मूल्यााकनका लागि चाहिँ ३ घण्टे परीक्षा !

कक्षा कोठाको व्यवहार, विषयको बुझाइ, कुनै विषय वस्तुमा दिइने प्रस्तुति, प्रोजेक्ट वर्कमा सक्रियता र सिर्जनशील प्रयोगलगायत मूल्यांकनका अरु पनि आधार छन् । तर, परम्परागत परीक्षा प्रणालीमा कहिलेसम्म अल्झिरहने ?

शिक्षा पास गर्ने होइन, आश गर्ने हुनुपर्छ । परीक्षालाई अन्तिम लक्ष्य रूपमा नभइ सिकाइको एउटा माध्यमको रूपमा लिनुपर्छ ।

हरेक विद्यार्थीको पढ्ने, सिक्ने र व्यक्त गर्ने तरिका फरक हुन्छन् । रट्ने अनि रटेको कुरा कापीमा सार्ने परीक्षाको परिणामले सबैलाई न्याय दिन सक्दैन । शिक्षा र पाठ्यक्रम सुधारको पहिलो कदममै यस्ता अव्यवहारिक परीक्षा प्रणाली खारेज गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्