
काठमाडौं । बालुवाटार गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरले नियतवश गोली नचलाएको बयान दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्दा नियतवश नभई दुर्घटनावश गाेली चल्न पुगेको बयान दिएका हुन् ।
शुक्रबार राती बालुवाटारमा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीमाथी गोली चलाएर भागेका हवल्दार मगरलाई पक्राउ गरी प्रहरी हेडक्वाटरमा वयान लिएकाे थियाे ।
शुक्रबार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट थियो । त्यसक्रममा राति साढे ९ बजे घरमा गोली चलेको थियो । कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य प्रहरी हवल्दार मगरले गोली चलाएका थिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।











