काठमाडौं । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले भद्र किरातीलाई विनाशर्त अविलम्ब रिहा गर्न माग गरेको छ ।
शनिबार ललितपुरको सातदोबाटोस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेका किरातीलाई प्रहरीले अपहरणशैलीका पक्राउ गरेको भन्दै संयुक्त संघर्ष समितिले शनिबार साँझ विज्ञप्ति जारी गर्दै अविलम्ब रिहा गर्न माग गरेको हो ।

किरात राई प्रज्ञा परिषदका प्राज्ञ सदस्य एवं सामाजिक अभियान्तसमेत रहेका किरातीलाई प्रदेश १ को पुनः नामांकन गर्न माग गर्दै आएका किरातीले शुक्रबार सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयनजिकै कोशी नामविरुद्ध कविता वाचन र कोशी नाम लेखिएको प्ले कार्ड जलाएको अभियोगमा प्रहरीले शनिबार पत्राउ गरेको हो ।
किरातीले इतिहास, पहिचान, भूगोल र संस्कृतिको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गरिनुपर्ने, पहिचानको आन्दोलनमा मारिएका सहिद लाजेहाङको सम्मानको लागि भन्दै प्रधानमन्त्री कार्यालय नजिकै ‘श्री ३ महाराजका भेडाहरु’ शीर्षकको कबिता वाचन गरेका थिए ।
प्रहरीले किरातीलाई पक्राउ गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । सोही क्रममा संयुक्त संघर्ष समितिले विना अभियोग अदालतको आदेश वा कुनै जानकारी विना व्यक्तिगत स्वतन्त्रता, मानवीय अधिकार र गोपनियताको अधिकारविपरित पक्राउ गरिएको भन्दै अविलम्ब रिहाइको माग गरेको हो ।
साथै, कोशी प्रदेश नाम खारेजीको शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाउने कार्यमा नलाग्न समेत सरोकारवालाहरुलाई संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।












