Logo
Logo

भद्रगोल किराती रिहा


1.4k
Shares

काठमाडौं । प्रदेश १ को नाम कोशीविरुद्ध आन्दोलनमा सक्रिय साहित्य सर्जक भद्रगोल किराती आज रिहा भएका छन् । शुक्रबार अवरान्ह ललितपुर सातदोबाटोस्थित डेराबाट प्रहरीले पक्राउ गरेर टेकु लगेका उनलाई आजै बिहान सिंहदरबार प्रहरी चौकिमा सारेको थियो । सोहि चौकिबाट उनी बिना शर्त रिहा भएका हुन् ।

रिहा भए लगत्तै उनले टेकु प्रहरी परिसरबाटै सबैलाई धन्यवाद दिएका छन् । पहिचान आन्दोलन अहिले उचाईमा पुगेको भन्दै उनले अब सम्पूर्ण पहिचान पक्षधरहरुले आ-आफ्नो ठाउँबाट जाग्नुपर्ने बेला भएको बताए ।

किरातीलाई प्रहरीले अपहरणशैलीका पक्राउ गरेको भन्दै संयुक्त संघर्ष समितिले शनिबार साँझ विज्ञप्ति जारी गर्दै अविलम्ब रिहा गर्न माग गरेको थियो । प्रदेश मन्त्री वुद्दिकुमार राजभण्डारीको घरमा कालो झण्डा गाडने र शुक्रबार सिहदरवार भित्र कोशी प्रदेश नामकरणको बिरुद्दमा कविता बाचन र कोशीको पम्प्लेट जलाएको बिषयमा प्रहरीले किरातीलाई पक्राउ गरेपछि पहिचान पक्षधरका विभिन्न संग, संगठनहरुद्वारा चौतर्फित विरोध र प्रदर्शन समेत गरिएको थियो ।

प्रदेश नं १ को नाम कोशी राखिएपछि किराती साहित्यिक क्षेत्रबाट सशक्त ढंगले लाग्दै आएका थिए । सुक्रबार किरातीले काठमाडौंस्थित सिंहदरबार भित्र प्रधानमन्त्री कार्यालय नजिकै कोशी नामविरुद्ध कविता वाचन र कोशी नाम लेखिएको प्ले कार्ड जलाएका थिए ।

इतिहास, पहिचान, भूगोल र संस्कृतिको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गरिनुपर्ने, पहिचानको आन्दोलनमा मारिएका सहिद लाजेहाङको सम्मानको लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय नजिकै ‘श्री ३ महाराजका भेडाहरु’ शीर्षकको कबिता वाचन गरेका थिए । किरातीको कबिता पहिचान विरोधी कोशी नाम राख्ने विभिन्न पार्टीका र्शीर्ष नेताहरु र बुझेर, नबुझेर हस्ताक्षर दिने प्रदेश सांसादहरुलाई ब्याङ्य गरिएको छ ।

किरात राई प्रज्ञा परिषद्का प्राज्ञ समेत रहेका किरातीले सोही कविता चैत्र २ गते १ नं. प्रदेश सभाको गेट अगाडी आयोजित ‘पहिचानको लागि सडक साहित्यिक यात्रा–२०७९’ र ५ गते विराटनगरमा भएको बृहत जनप्रदर्शनमा पनि वाचन गरेका थिए ।

चैत्र २ गते १ नं। प्रदेश सभाको गेट अगाडी आयोजित ‘पहिचानको लागि सडक साहित्यिक यात्रा–२०७९’को उद्घाटन कार्यक्रममा साहित्यकार तथा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, पत्रकार संजय याक्खालाई प्रहरीले पक्राउ गरेर केही घण्टा राखेका थिए ।

किरात राई लेखक संघ र याक्थुङ लेखक संघको संयुक्त आयोजनामा भएको ‘पहिचानको लागि सडक साहित्यिक यात्रा–२०७९’को योजना स्वयम भद्रगोल किरातीले ल्याएका थिए । सो साहित्यिक यात्रा प्रदेश १ को १४ जिल्लाको जिल्ला प्रशासन कार्यालय अगाडि गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्