Logo
Logo

सुडानमा द्वन्द्व भड्कियो, तत्काल युद्ध अन्त्य गर्न राष्ट्रसंघको आह्वान


एजेन्सी


संयुक्त राष्ट्रसंघ । राष्ट्रसंघीय सुरक्षा परिषद्ले सुडानमा द्वन्द्व भड्किएकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ भएको मानवीय क्षतिप्रति दुःख प्रकट गरेको छ ।

सुरक्षा परिषद्का सदस्यहरूले द्वन्द्वरत पक्षलाई तत्काल झडप त्यागेर शान्ति स्थापना गर्न तथा सुडानको वर्तमान सङ्कट समाधानका निम्ति वार्तामा फर्कन आह्वान गरेको छ ।

परिषद्ले आइतबार विज्ञप्ति निकालेर सुडानमा मानवीय पहुँच कायम राख्न तथा राष्ट्रसङ्घीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । विज्ञप्तिमा सुडानको एकता, सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताप्रति परिषद्को दृढ प्रतिबद्धता दोहो¥याइएको छ ।

सुडानको राजधानी खार्तुममा शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका तथा ६ सय जना घाइते भएका समाचार सार्वजनिक भएपछि सुरक्षा परिषद्ले तत्काल युद्ध अन्त्यका लागि आह्वान गरेको हो । शनिबारदेखि जारी युद्ध आइतबार पनि बिहानैदेखि जारी रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कमजोर समुदायलाई खाद्य सहायता प्रदान गर्ने राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमका तीन जना कर्मचारी पनि झडपमा मारिएका छन् । पश्चिम सुडानको कब्कावियामा रहेको सैन्य आधार शिविरमा भएको झडपमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बेलायत, अमेरिका, युरोपेली सङ्घ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहमद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै अविलम्ब हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्