Logo
Logo

उद्योगी व्यवसायीको संवाहक बनेर महासंघ अगाडि बढ्नेछ : अध्यक्ष ढकाल


378
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पदभार ग्रहण गरेका छन् । ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट महासंघको २०औँ अध्यक्षमा निर्वाचित भएका हुन् ।

ढकाल महासंघको विधानअनुसार यही चैत्र २८ र २९ गते आयोजित ५७औँ वार्षिक साधारणसभाबाट स्वतः अध्यक्ष बनेका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने गर्छ ।

बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमितिको चयन भएसँगै सोही दिन ढकालले अध्यक्षको सफत लिएका थिए ।

आइतबार अध्यक्षको कार्यभार सम्हाल्दै ढकालले आफ्नो कार्यकालमा पाँच वटा विषयमा केन्द्रित रहेर काम गर्ने बताए । उनले भने, ‘पहिलो, वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो, लगानीको वातावरण बनाउने, तेस्रो, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र पाँचौ–राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने छु ।’

महासंघको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने तथा नेपाली उद्यमी व्यवसायीलाई लगानी प्रवद्र्धनका कार्यक्रम लिएर महासंघले विशेष अभियान सन्चालन गर्नेमा पनि अध्यक्ष ढकालले जोड दिए ।

अध्यक्ष ढकालले सबैजना उद्योगी व्यवसायीको आशा र भरोसाको संवाहक बनेर महासंघले काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । महासंघलाई ठूला, साना र मझौला सबै उद्योगी, व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्न आफ्नो प्रयास रहने अध्यक्ष ढकालले उल्लेख गरे ।

जिल्ला नगर तथा वस्तुगत उद्योग बाणिज्य संघहरूलाई आगामी दिनमा थप सशक्त बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।

उद्योग व्यवसाय तथा लगानीसँग प्रत्यक्ष जोडिने आर्थिक विषयसँग सम्बन्धित ऐन नियमहरु संशोधन गर्दा वा नयाँ नीति तथा कानून तर्जुमा गर्दा सरकार र नीति निर्माणकर्तासँग सघन सहकार्यका लागिसमेत आफूले पहल लिने अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्