Logo
Logo

एभरेष्ट बैंकको लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण हुने



काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत विनाधितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति १० लाख रुपैयाँसम्मको सुरक्षण हुने जनाइएको छ ।

त्यस्तै, भूकम्पपीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न प्रदान गरिने कर्जामा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म, सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्तिका लागि प्रदान गरिने स्वरोजगार कर्जामा प्रतिव्यक्ति वा परिवार १० लाख रुपैयासम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्ने बैंकले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा कोषका विभागीय प्रमुखहरू र बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, कर्जा विभाग प्रमुख अन्जु शर्मा र बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीको उपस्थिति रहेको जनाइएको छ ।पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकले हाल देशभरमा एक सय २४ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालयहरू, एक सय ६० एटिएमका साथै सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्