Logo
Logo
कला

‘म्याग्दीमा सिमित थाली नाचलाई प्रचारको आवश्यक छ’



नेपाली कला क्षेत्रमा नृत्यका थुप्रै विधा छन् । त्यसमध्ये एक हो ‘थाली नृत्य’ । तर, यो नृत्य कमै नाचिन्छ । म्याग्दीमा भने ‘थाली नाच’ लोकप्रिय छ । विशेषगरी मगर समुदायले नाच्ने ‘थाली नृत्य’ २०२८ सालतिर म्याग्दीबाटै सुरु भएको मानिन्छ । ‘थाली नृत्य’लाई देशव्यापी प्रवद्र्धन गर्ने उद्देश्यसहित एलिजिबा पुर्जा पुन मगर ढेड दशकदेखि लागि परेकी छन् ।

म्याग्दी, धौलागीरी–६ की एलिजिबा भन्छिन्, ‘ढेड दशकदेखि थाली नृत्य गर्दै आएकी छु किनकि म्याग्दीमा मात्र सिमित यो नृत्यलाई देशभरी चिनाउने मेरो उद्देश्य हो ।’ एलिजिबा सानैदेखि नृत्य गर्न रुचाउँथिन् रे । १५ वर्षकै उमेरदेखि नृत्यकर्ममा होमिएकी उनलाई ‘थाली नृत्य’ अर्थात दुवै हातमा थाल बोकेर नाच्ने नाचले मोहित बनायो । ‘थाली नृत्य’की एकमात्र चर्चित नृत्यांगना तथा मगर संघ सम्पर्क समन्वय केन्द्रीय समिति म्याग्दीकी कोषाध्यक्षसमेत रहेकी एलिजिबा पुर्जा पुन मगरसँग एमपी सुब्बाको जम्काभेट ।

तपाइँ थाली डान्सरका रुपमा चिनिनुहुन्छ । थाली नाच भनेको के हो ?
मानिसमा विभिन्न कला हुन्छ । त्यसमध्येको एक कला हो थाली नृत्य । यो नेपाली विशेषगरी म्याग्दी जिल्लाको मौलिक नृत्य हो । थाली नृत्य जो–कोहीले गर्दैन र गर्न आउँदैैन पनि । मैलेचाहिँ थाली नृत्य गर्न थालेको धेरै वर्ष भयो । मेरो मुख्य कलाको विधा नै थाली नृत्य हो ।

‘थाली नृत्य’ गर्न थाल्नुभएको कति भयो ?
ढेड दशक बढी भयो । १५÷१६ वर्षकी हुँदैखेरी म नृत्य गर्थे । तर, त्यसबेला अन्यजस्तै नृत्य गर्थे । विस्तारै थाली नृत्यप्रति मेरो रुची बढ्दै गयो, त्यसपछि थाली नृत्य गर्न थालेकी हुँ ।

‘थाली नाच’ कसरी नाचिन्छ ?
यो नाच पनि अन्य नृत्यजस्तै हो । तर, थाली नृत्य गर्दा दुवै हातमा थाली बोकेर नाचिन्छ । थाल हातमा सलएर फनफनी घुमाउँदै नाच्न जोसुकैले सक्दैन । त्यसैले सुरु सुरुमा थाली नृत्य गर्न निकै गाह्रो हुन्छ । मलाई पनि सुरुका दिनहरुमा गाह्रो भएको थियो । अहिलेचाहिँ सजिलो लाग्छ ।

कस्ता गीतमा नाचिन्छ थाली नृत्य ?
पञ्चेबाजा, सालैजो र मगर समुदायको पुर्खौली गीत हुन्छ । ती गीतहरुमा थाली नृत्य गरिन्छ ।

‘थाली नृत्य’ मगर समुदायले मात्र गर्ने हो ?
गर्न सक्ने सबैले गर्दा हुन्छ । मगरले पनि सबैले यो नृत्य गर्न आउँदैन । विशेषगरी म्याग्दी जिल्लामा बसोबास गर्ने मगर समुदायले यो नृत्य गर्छ । र, गर्दै आएका छन् । थाली नृत्यको सुरुवात नै म्याग्दीबाट भएकाले यो नाच म्याग्दीमा लोकप्रिय छ ।

यो नृत्य किन देशव्यापी बन्न सकेको छैन ?
मुख्य कुरा प्रचार हुन सकेन । अर्को कुरा, जोकोहीले थाली नृत्य गर्न नसक्ने भएर पनि हो । म्याग्दीमा थुप्रै थाली नृत्य गर्नेहरु छन् । तर, बाहिर देखाएर हिँडेका छैनन् । यो नृत्य म्याग्दी जिल्लाभित्र लुकेको छ । मैलेचाहिँ विभिन्न कार्यक्रमहरुमा थाली नृत्य गर्दै आएकी छु ।

‘थाली नृत्य’प्रति कसरी आकर्षित हुनुभयो ?
म सानैदेखि नृत्यमा सौखिन थिएँ । त्यसैले सानैदेखि लोक, क्लासिक र मोर्डन डान्स गर्न थालें । त्यहीक्रममा म्याग्दीमै केही व्यक्तिले हातमा थाल बोकेर फनफनी नाचेको देखेँ । त्यो देख्दा चाख लाग्यो । तर, कसरी गर्ने ? भन्ने कौतुहलता जाग्यो । र, मैले पनि कोशिस गर्न थालेँ । त्यसक्रममा थाली नृत्य गर्न थालेँ । अहिले आएर थाली नृत्य मैले मुख्य विधा बनाएकी छु ।

तपाइँलाई एकमात्र ‘थाली डान्सर’ भन्दारहेछन् नि ?
एकमात्र थाली डान्सरचाहिँ होइन । बाहिर देखिएकी र चिनिएकीचाहिँ म मात्र होला किनकि म्याग्दीमा थुप्रै राम्रा थाली डान्सरहरु छन् । उनीहरु म भन्दा सिनियर पनि छन् । तर, उनीहरुले बाहिर देखाउँदैनन् । व्यवसायीरुपमा थाली डान्स गर्नेचाहिँ म मात्र हुँ ।

‘थाली नृत्य’ सिकाउने एकेडेमी खुलेको छ कि छैन ?
अहिलेसम्म नेपालमै खुलेको छैन । अबचाहिँ म थाली डान्स एकेडेमी खोल्ने सोच बनाउँदै छु । अब चाँडै थाली नृत्य सिक्न चाहनेहरुका लागि एकेडेमी हुनेछ ।

तपाइँको उद्देश्य के हो ?
म्याग्दी जिल्लाभित्र लुकेकोे थाली नृत्यलाई प्रवद्र्धन गर्ने र देशव्यापी चिनाउने मेरो उद्देश्य हो । यही उद्देश्यले१५ वर्षभन्दा लामो समयदेखि थाली नृत्य गर्दै आएकी छु । हिजोआज त विभिन्न कार्यक्रमबाट थाली नृत्य लिएर आउनु भनेर प्रस्ताव आउन थालेको छ । जो मेरै कारणले हो किनकि अहिलेसम्म थाली नृत्य जति प्रचारमा आएको छ । त्यो मैले गरेकी हुँ ।

थाली नृत्य अरु डान्सजस्तै स्थापित हुनसक्छ ?
अरु डान्सजस्तै त नहोला किनकि यो डान्स गर्न सजिलो छैन । सिक्नका लागि पनि धेरै मिहिनेत गर्नुपर्छ । तर, राम्रो प्रचारप्रसार भयो भने यो नृत्यले नेपाली कला र नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने छ ।

मोडलिङ र अभिनयतिर तपाइँको रुची भएन ?
रुची थियो । अहिले पनि मलाई मोडलिङमा रुची छ । सालैजो र तीजका गीतहरुमा मोडलिङ पनि गरेकी छ्ु । तर, अहिले उमेरले पनि मोडलिङमा सुहाउँदैन । सुहाउँदो भूमिका पाएँ भनेचाहिँ गर्छु ।

प्रतिक्रिया दिनुहोस्