Logo
Logo

खाली कुर्सी राखेर लुम्बिनीमा ट्राभल मार्ट, दुई करोड स्वाहा



लुम्विनी । विवादका बीच बुद्ध जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न भएको छ । न्युन सहभागी र रुपन्देहीका क्रियाशील पर्यटन व्यवसायीको असन्तुष्टिका बीच मार्ट सकिएको हो । अन्तर्राष्ट्रिय जगतमा बुद्धस्थलको प्रचारप्रसार र प्रबद्र्धन गरी पर्यटक भित्र्याउने मार्टको उद्देश्य हो । तर, कार्यक्रम व्यवस्थापन फितलो हुँदा र स्थानीय पर्यटन व्यवसायीलाई नसमेट्दा सोचे जस्तो हुन नसकेको आयोजक नै स्वीकार्छन् ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्य एवं अन्य संघसंस्थाहरूको सहयोगमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो ।

गत बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन लुम्बिनीमा भएको मार्टमा आयोजकले भनेअनुसार विदेशी ट्राभल एण्ड टूर अपरेटर तथा व्यवसायीहरू सहभागी भएनन् । स्थानीयलाई बेवास्ता गरिएको भन्दै रुपन्देहीका पर्यटन व्यवसायीले कार्यक्रमस्थल नजिक कालो ब्यानर प्रदर्शन गरे । २ करोड खर्च गरिएको कार्यक्रमले पर्यटन क्षेत्रमा लाभ भन्दा व्यक्ति विशेषलाई फाइदा पुगेको रुपन्देहीका पर्यटन व्यवसायीको आरोप छ ।

चारवर्ष अघि रुपन्देहीमै पहिलो बुद्धिष्ट मार्ट आयोजना गरिएको थियो । कोरोना महामारी लगायत कारणले दोस्रो आयोजनामा ढिलाई भएको आयोजकले जनाएका छन् । लामो समयपछि र पहिलो मार्टका गुण र दोष अवगत भइसकेको अवस्थामा समेत दोस्रो आयोजना फितलो देखिएको छ ।

बिहीबार उद्घाटनबाहेक त्यसपछिका महत्वपूर्ण सत्र सहभागी बिहीन देखिए । खाली कुर्सीमा विज्ञले महत्वपूर्ण भनाइ राखे । ‘सुन्ने कोही नहुँदा निकै खल्लो भयो’, लुम्बिनीका स्थानीय एक पर्यटन व्यवसायीले भने, ‘तयारी विना कार्यक्रम गर्दा लाभ पर्यटन क्षेत्रले पाउन सकेन ।

उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने भनिएको थियो । तर, उनी उद्घाटन गर्न आएनन् । उद्घाटनपछि सञ्चालन भएका सत्रमा बुद्धिष्ट क्षेत्रका अनुभवी र विज्ञ वक्ता थिए । तर, होटल पवन प्यालेसको हलमा सुन्ने श्रोता थिएनन् । तीन दिने मार्टको सुरुवातमै केही विवाद सार्वजनिक भएका थिए । स्थानीय पर्यटन सरोकारवालालाई बेवास्ता गरिएको जनाउँदैं एक दर्जन स्थानीय व्यवसायिक संघसंस्थाले ‘मार्ट बहिस्कार’ को कार्यक्रम अघि सारे ।

उनीहरूले लुम्बिनीको पर्सा चोकमा ब्यानर प्रदर्शन गरे । एक दिन अघि आयोजकप्रति असहमति जनाएको पर्यटक सरोकार सञ्जालले उक्त प्रदर्शन गरेको थियो । त्यसपछि पर्यटन सचिवको अगुवाइमा स्थानीय व्यवसायीसँग मिलापत्रको काम भयो ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीका अनुसार पर्यटन मन्त्रालयले आगामी डिसेम्बरमा पर्यटन मेला आयोजनाका लागि दुई करोड रुपैयाँ विनियोजन गर्ने सहमति भएको छ । उक्त सहमति मार्टको उद्घाटन सत्रमा सहभागी भएका स्थानीय सरोकारवाला बिहीबार साँझ रात्रीभोजमा मात्र उपस्थित भए । उनीहरू दिउँसोका सत्रमा सहभागी थिएनन् । त्यसको अर्को कारण आयोजकले स्थानीयलाई गरेको बेवास्ता नै हो ।

आयोजकले सहभागीमा स्थानीयको नामै समेटेका थिएनन् । संघीय राजधानीबाट ल्याइएको सहभागीको सूचीमा स्थानीय पर्यटन सरोकारवाला र पत्रकारको नामै थिएन । संघीय राजधानीबाट आएका सहभागीले घाँटीमा ठूलाठूला परिचय उल्लेख गरिएका कार्ड झुण्डयाएका थिए । सहभागी नहुने देखिएपछि स्थानीयलाई बीआईटीएम लेखिएको ब्याच छातीमा टाँस्न लगाएर प्रवेश दिइएको थियो । स्थानीय सञ्चारकर्मी मात्र कार्यक्रममा बसेका थिए । आयोजकले काठमाडौंकै पत्रकारको कार्ड बनाएर ल्याएका थिए । तर, कार्यक्रममा संघीय राजधानीबाट पत्रकार आएनन् ।

कार्यक्रमका छलफल सत्रमा बिदेशी प्रोफेसर मुख्य वक्ताका रुपमा निम्त्याइएका थिए । ती वक्ताले मञ्चबाट आफ्ना कुरा राख्दा हलका ९० प्रतिशतभन्दा बढि कुर्सी खाली थिए । बुद्धिष्ट पर्यटन बजारीको विषयमा आधा दर्जन वक्ताले आफ्नो बिचार राखे ।

हलमा सुन्ने सहभागी पनि त्यही हाराहारीमा देखिन्थे । पर्यटन बोर्डले विभिन्न मुलुकबाट २८ टुर्स एण्ड ट्राभल कम्पनी सहभागी हुने जनाएको थियो । कार्यक्रममा राखिएका स्टलमा बिदेशीको उपस्थित न्यून थियो । नेपाली, होटल र एयरलाइन्सका स्टलमा व्यापारिक चासो शून्य देखिएको थियो ।

‘प्लेन चढेर आएका सहभागी समेत कार्यक्रममा देखिएनन्,’ छलफल हेरेपछि निराश एक स्थानीयले भने, ‘यो कार्यक्रम कसका लागि आयोजना गरिएको होला ? अंग्रेजी बोलेर मात्रै अन्तर्राष्ट्रिय बनाइयो ।’

दिनभरि कार्यक्रममा सहभागीले पानीसमेत पिउन नपाएको गुनासो गरे । ‘पानीका लागि निकै भौतारिनु पर्यो,’ लुम्बिनी बिकास कोषबाट सहभागी एक अधिकृतले भने, ‘यत्रो कार्यक्रम लुम्बिनीमा आयोजना हुनु सकारात्मक हो, तर, व्यवस्थापन फितलो देखियो ।’

‘होटलमा चिया किनेर खान धेरै महंगो, पहिले पैसा नतिरेसम्म दिँदैन,’ अर्का एक सहभागीले भने, ‘दुई करोड बजेट कता खर्च गरे, पाहुनालाई चियासम्म नखुवाउने ।’ पर्यटन बोर्ड र मन्त्रालयका कर्मचारी यस्ता कार्यक्रमका लागि विभिन्न मुलुक धाइरहेका हुन्छन् ।

बिदेशमा आयोजना हुने पर्यटन मेलामा सहभागी भइरहेका हुन्छन् । तर, बोर्ड र मन्त्रालयले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन देखेर रुपन्देहीका व्यवसायीले ‘खिसी’ नै गरे ।

खल्लो तीन दिवसीय अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्टले सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न भयो । सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्ने लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्दै मार्ट सम्पन्न भएको हो ।

सात बुँदे घोषणापत्रमा लुम्बिनी, भगवान बुद्ध (शाक्यमुनि) को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु र शान्ति गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने, लुम्बिनी र अन्य बौद्ध स्थलहरूमा पर्यटकको बसाइँ विस्तार गर्न विभिन्न गतिविधिहरू सहितको साझा प्याकेज विकास गर्ने, पर्यटकहरूलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिहरूलाई प्राथमिकता दिने उल्लेख छ ।

मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिहरूको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जनाए ।

उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरुको उपस्थितिले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने समेत बताए । ‘लुम्बिनी आफैमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिड पछि सिथिल भएको पर्यटनलाई पुनर्जागृत गर्न र लुम्बिनीको महत्वलाई थप उजागर गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ’, उनले भने ।

लुम्बिनी घोषणा पत्र जारी गर्दै मार्ट सकिए पनि रुपन्देहीमा भने यसको प्रतिफल राम्रो नभएको भन्दै दुई करोड स्वाहा पार्दै कार्यक्रम गरिएको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्