काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ भुटानी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार पक्राउ परेका रिजाल र मियाँलाई प्रहरीले बिहीबार नै काठमाडौं जिल्ला अदालत हाजिर गरेको थियो । जिल्ला अदालतले अनुसन्धानका लागि दुई दिन म्याद थप अनुमति दिएको हो ।

नेपाल हज समितिका अध्यक्ष मियाँलाई प्रहरीले सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ गरेको थियो । भुटानी नेता रिजाल बिहीबार साँझ पक्राउ परेका थिए । यसअघि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनाको पनि शुक्रबारसम्म हिरासतमा रहनेगरी म्याद थपिएको थियो । हालसम्म नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी प्रहरी हिरासतमा छन् ।
त्यस्तै, नेपाली कांग्रेसका नेता आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पनि प्रहरी हिरासतमा छन् । पक्राउ पुर्जी जारी गरिएका अन्य दुईजना भने फरार छन् । पक्राउ परेकाहरु माथि प्रहरीले ‘संगठित ठगी’ कसुरमा अनुसन्धान गरिरहेको छ ।











