Logo
Logo

सिद्धार्थनगरमा गुट्खा प्रतिबन्ध, आर्थिक लाभ लिएपछि खुकुलो



रुपन्देही । गत पुसमा ३५ दिने सार्वजनिक सूचना निकाल्दै सिद्धार्थनगर नगरपालिकाले सूर्ति तथा गुट्खाजन्य पदार्थ विक्रीवितरण नगर्न अनुरोध गर्यो । सूचना जारी भएको ३५ दिनपछि माघबाट नगरपालिकाले धमाधम सूर्ति तथा गुट्खाजन्य पदार्थ बजारबाट बरामद गर्न थाल्यो । व्यवसायीले अटेर गरेको भन्दै अनुगमन गरेर नगरपालिकाले कयौं पसलबाट गुट्खा बरामद गरेको थियो ।

सुरुमा निकै सक्रिय देखिएको नगरपालिका भने अहिले चुपचाप छ । खुलेयाम नगर क्षेत्रभित्र गुट्खा विक्रीवितरण भइरहेको छ । ‘सुरुमा हाइलाइट हुनलाई जफत गरियो, अहिले गुट्खा व्यवसायीसँगको मिलेमतोमा अनुगमन गर्नै छाडियो’, सिद्धार्थनगर ७ का एक स्थानीय व्यवसायीले दृष्टिसँग भने । नगरपालिकाको निर्णय राम्रो भए पनि प्रभावकारी नभएको उनले बताए ।

गुट्खा विक्रीमा प्रतिबन्ध लगाएपछि केही उद्योगीले नगरपालिकाको आलोचना पनि गरेका थिए । सरकारले नै अनुमती दिएको र सबै किसिमका कर तिर्दासमेत प्रतिबन्ध लगाइएको भन्दै उद्योगीले दुखेसो पोखेका थिए । स्वदेशी उत्पादनको गुट्खा प्रतिबन्धपछि भारतीय बजारबाट भैरहवामा दैनिक लाखौं राजश्व छलीमा गुट्खा भित्रिए । तर, नगरपालिकाले भारतीय अवैध गुट्खा बरामद गरेन । बरु, स्वेदशी उत्पादनलाई कडाई गरेर जफत गर्यो ।

अहिले त न स्वदेशी गुट्खा जफत हुन्छ, न त अवैध बाटोबाट भित्रिएको भारतीय गुट्खा नै । नगरपालिका आफ्नै निर्णयमा डगमगाएको छ । केही गुट्खा उद्योगीले आएर नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई भेट गरे पछि सिद्धार्थनगरमा प्रतिबन्धित गुट्खा खुलेयाम विक्री हुन थालेको हो । ‘सुरुमा हामीलाई गुट्खा जफत गर्न दिनदिनै बजार पठाइन्थ्यो, अहिले केही आदेश छैन’, नगरपालिकाका एक कर्मचारीले भने, ‘गुट्खा व्यवसायीबाट जनप्रतिनिधि र माथिल्लो तहका कर्मचारीले आर्थिक लाभ लिएको हुनसक्छ ।’

अहिले ती कर्मचारीले भनेजस्तै ठ्याक्कै अनुगमन छैन । प्रतिबन्ध लगाउँदा हाईहाई भएको नगरपालिका अनुगमन छाडेर खुलेयाम विक्री गर्न दिँदा आलोचित भएको छ । कर्मचारी, वडाध्यक्ष, वडा सदस्यदेखि स्थानीय बासिन्दा नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीले लाभ लिएर खुलेयाम गुट्खा विक्री गर्न दिएको भन्दै चिया पसलदेखि घरघरसम्म चर्चा गरिरहेका छन् । ‘आर्थिक लाभकै लागि सुरुमा प्रतिबन्धको निर्णय गरियो, पछि कतैबाट दवाव पनि आएको हुनसक्छ, तर मुख्य कुरा मोटो रकम लिएरै अघोषित रुपमा प्रतिबन्ध फुकुवा गरिएको हो’, ती कर्मचारीले दृष्टिसँग भने ।

सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउने भन्दै नगर प्रमुख इश्तियाक अहमद खानले ठाउँठाउँमा भाषण गर्दै हिंड्छन् । उनले गुट्खाको कागज जहाँतही फ्याँक्दा नगरको सौन्दर्यता हराएको बताउँदै आएका छन् । तर, उनले भने आफ्नो निर्णय कार्यान्वयन गराउन सकेका छैनन् । नगर प्रमुखलाई बाइपास गरेर अन्य केही जनप्रतिनिधि र माथिल्लो तहका कर्मचारीले गुट्खा व्यवसायीसँग साँठगाँठ गरेको आरोप नगरबासीले लगाउँदै आएको छन् ।

गुट्खा विक्री खुकुलो गराउन लाखौं रुपैयाँको चलखेल भएको दावी गरिएको छ । नगर प्रमुख खानले केही दिन अघि भैरहवामा आयोजित कार्यक्रममा गुट्खा प्रतिबन्धलाई कडाई गरिएको दावी गरेका थिए । तर, उनले भनेअुसार कर्मचारी र अन्य जनप्रतिनिधिले सहयोग गरेका छैनन् । आर्थिक लाभकै कारण सबै तै चुप मै चुप छन् । जसले गर्दा नगरपालिका भ्रष्टीकरण हुँदै गएको भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्