Logo

विवादका कारण खार्पुनाथमा मतगणना रोकियो


Published On : 1 December, 2019

सिमिकोट, १५ मंसिर । खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म मतगणना हुन सकेको छैन । उपाध्यक्ष पदका लागि शनिबार सम्पन्न भएको मतदान कार्यको आइतबार आज बिहान ८ बजेदेखि मतगणना शुरु हुने भनिए पनि विवादका कारण मतगणना हुन नसकेको हो ।
तीनवटै राजनीतिक दलहरुले वडागतरूपमा मतगणना गर्नुपर्ने माग राखेका छन् भने मुख्य निवार्चन अधिकृतको कार्यालयले वडागतरूपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो । बिहान ८ बजे बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । अहिले पुनः सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ । पालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कडा प्रतिस्पर्धा देखिएको छ । खार्पुनाथमा ८५ प्रतिशत मत खसेको छ ।
खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा नेकपा र कांग्रेस कार्यकर्ताबीच ढुंगामुढा भएको छ । शनिबार उपनिर्वाचनमा मतदान गरिसकेका स्थानीयवासीले आइतबार बिहान नेकपाका नेता तिजबहादुर शाहीको घरमा ढुंगामुढा गरेपछि विवाद भएको नेकपाका गाउँ कमिटी अध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।
अहिले दुवै पक्षबीच भएको विवाद सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्