Logo
Logo

म कानुनको विद्यार्थी, स्वास्थ्य क्षेत्र बुझ्ने कोशिस गर्दैछु : मन्त्री ढकाल


- दृष्टि न्युज/संवाददाता


भरतपुर अस्पतालको निरीक्षणका क्रममा आइतबार बिरामीसँग कुराकानी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल । तस्वीरः रासस

चितवन, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गरेका छन् ।
‘म अस्पतालजस्तो क्षेत्रलाई कोही कसैको नभनी काममा लगाउँछु । तपाईँहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी छ । सबै मिलेर सेवाभावले काम गरौँ’, मन्त्री ढकालले भने, ‘अस्पताल विकास समितिमा राजनीति हुने कुराले जनता सेवाबाट प्रभावित भएको सुन्ने गरेको छु, त्यो रोक्ने प्रयत्न मेरो रहने छ ।’
अस्पतालको स्तरवृद्धि र साधन स्रोतको व्यवस्थापन प्राथामिकताका आधारमा हुने उहाँको भनाइ थियो । गरीब बिरामीले सेवा र औषधि नपाउने समस्या समाधानमा आफ्नो मुख्य दायित्व रहेको मन्त्री ढकालले बताए ।
सरकार र विदेशी निकायले स्वास्थ्य क्षेत्रमा गरेको लगानी प्रशासनिक खर्चमा बढी हुने गरेको बताउँदै उनले यसलाई कटौती गर्ने तयारीमा आफू रहेको जानकारी दिए । ढकालले भने, ‘स्वास्थ्य क्षेत्रमा गरिएको लगानी प्रशासनिक खर्च र सेमिनारका लागि विदेश जाने गरेको पाएको छु, यो बेथिति रोक्ने काम गर्नेछु’, उनले थपे, ‘बिरामीले औषधि महँगोमा किन्नुपरेको समेत जानकारी आएका कारण यसलाई पनि रोक्ने मेरो प्रयत्न रहने छ ।’
भरतपुर अस्पतालको आफ्नो जमीन अरुलाई बाँडिसकेको प्रसंग निकाल्दै उनले यो अस्पताल सम्पत्ति भएर सुकुम्वासी बाबुआमाजस्तो भएको बताए । मन्त्री ढकालले अस्पतालले स्वामित्वसमेत दिएको जग्गा फर्काउन कठिन हुने भएकाले भोगचलनका लागि दिइएको जग्गाको विषयमा अध्ययन गरी फिर्ता लिने प्रक्रिया अघि बढाउने बताए । आफू कानूनको विद्यार्थी भएकाले स्वास्थ्य क्षेत्रको विषयमा बुझ्ने काम भइरहेको बताउँदै उनले चिकित्सा सेवालाई प्रभावकारी र सेवामुखी बनाउनसमेत कर्मचारीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्