काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी बुधबार संसद बैठकमा उपस्थित भएका छन् । उनी करिब तीन महिनापछि सांसदमा उपस्थित भएका हुन् । सांसद भण्डारीले प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा समेत राख्न भ्याए । उनले सभामुखसँग विशेष समयमाग गरेर नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका हन् ।

गत फागुन ४ मा आफ्नो घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको नेपालमा उपचार सम्भव नभएपछि भारत लगिएको थियो । उनी केही दिनअघिमात्र नेपाल फर्किएका हुन् ।
स्वास्थ्यमा अझै सुधारोन्मुख छ । तर, उनले स्वास्थ्य प्रतिकुलताका बीच पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएका हुन् । उनलाई बसेर बोल्ने व्यवस्था मिलाइएको थियो । सोक्रममा सांसद भण्डारीले अरु देशका भन्दा नेपालका स्वास्थ्यकर्मी र डाक्टरहरू कम नभएको बताए ।
‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा ७ दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ’ उनले भने, ‘त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् ।’
उनले छिमेकी देशमा उपचारका लागि पठाएर साथीहरुले सहयोग गरेको बताउँदै भने, ‘विगतको तीन वर्षमा तीनजना मात्रै भेन्टिलेरमा गएर बाँचेका रहेछन् । म सौभाग्यले बाँचेर आएर यहाँ बोल्न पाइरहेको छु ।’











