काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएकाहरुको अनुसन्धान भइरहेको बताएका छन् । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार नक्कली भूटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै गृहमन्त्री श्रेष्ठले नाम जोडिएहरुबारे अनुसन्धान भइरहेको बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले कसैले दिएको बयानकै आधारमा पक्राउ गर्न नमिल्ने बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताए । राजनीतिक दलले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको बताउँदै उनले देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए ।
गृहमन्त्री श्रेष्ठले भने, ‘जनतालाई हामीले जीवन फेरिएको अनुभुति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन ।’
उनले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण प्रभावकारी रुपमा गर्नुपर्ने बताउँदै भने, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ ।’
उनले प्रकरणमा नाम जोडिएकाहरुको अनुसन्धानको आधारमा कारबाही अगाडि बढाउने पनि बताए । ‘मैले नेपाल प्रहरीलाई निष्पक्ष रुपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छ’ उनले भने, ‘एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरु पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’











