Logo
Logo

रेशम चौधरीलाई ‘आम माफी’ दिने तयारी



काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आम माफी दिने तयारी गरेको छ । त्यसका लागि गृह मन्त्रालयबाट निवेदन राष्ट्रपति कार्यालयमा पुगेको छ ।

२०७२ भदौं ७ टिकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका पूर्वसांसदसमेत रहेका चौधरीको बाँकी सजाय माफी दिन लागिएको हो । उनलाई यही जेष्ठ १५ गते ‘गणतन्त्र दिवस’को अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी कार्य अघि बढाइएको हो ।

बुधबार गृहमन्त्रालयले राष्ट्रपति कार्यालयको कानुन शाखामा चौधरीको सजाय माफी सम्बन्धी फाइल पठाएको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले पुष्टि गरेका छन् । उनले रेशम चौधरीको माफीको निम्ति राष्ट्रपति कार्यालयमा बुधबार फाइलहरू आएको कानुनका सहसचिवबाट जानकारी पाएको बताएका छन् । तर, बिहीबार (आज) सार्वजनिक विदा भएकाले फाइल अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

रेशम चौधरी २०७४ साल १५ फागुनदेखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए चौत्ररीले १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्