
काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च युरोपले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि अनुसन्धान गर्न माग गरेको छ ।
मञ्चको यूरोप कमिटीले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
यूरोप कमिटी अध्यक्ष उमेशराज मोक्तान र महासचिव मनोज भुसालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा आफ्नै नागरिकलाई शरणार्थी बनाएर विदेशमा बेच्ने कार्य जघन्य अपराध मात्र नभएर राष्ट्रियता तथा सार्वभौम प्रतिको भद्दा मजाक हो जसले विश्व सामु देशको विश्वसनीयता गुमेको बताएको छ ।
मञ्चले सार्वभौम सत्ता सम्पन्न नेपाली जनता विरुद्ध पदीय आचरण दुरुपयोग गरी घटनामा संलग्न भएका सबैलाई कानूनी दायरामा ल्याई कठोर दण्ड गर्दे विधिको शासन र कानुनको राज स्थापित गर्न माग सहित ज्ञापन पत्रमार्फत यो प्रकरणमा संलग्नलाई हदै सम्मको कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली दूतावास बेलायतमा आज यूरोप कमिटीको तर्फबाट अध्यक्ष उमेशराज मोक्तान,बेलायत अध्यक्ष कृष्ण तिवारी, सचिव रमेश बटला लगायतको टोलीले राजदूत आचार्यमार्फत सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।











