काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीभित्र गुटबन्दी कुनैपनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् । प्रेस सेन्टर नेपालको १९औं साधारणसभा र २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी प्रवक्तासमेत रहेका महराले भने, ‘पार्टी केही बिग्रिएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । पार्टी बिग्रिनुको प्रमुख कारण नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । माओवादीले गुटबन्दीलाई मान्यता दिइँदैन ।’
पार्टीलाई राम्रो बनाउनका लागि पार्टी अध्यक्ष एवं पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीकै नेता कार्यकर्ताले घेराबन्दी गर्नुपर्ने उनको भनाइ छ । नेता महराले भने, ‘घेराबन्दीको बीचमा अगाडि बढ्नका लागि दृढ संकल्प गर्नुपर्छ । कमरेड प्रचण्डको वरिपरि घेराबन्दी पार्टीका नेता कार्यकर्ताले नै गरौँ ।’
उनले माओवादी नेतृत्वको सरकारलाईघराबन्दी गर्न वैदेशिक शक्ति लागेको बताएका छन् । वैदेशिकसहित आन्तरिक रुपमा समेत भइरहेको घेराबन्दी तोड्नका लागि सबै एक भएर लाग्न उनले प्रेस सेन्टर नेपाललाई आग्रह गरे । सहकर्मी कृष्णसेन इच्छुक र प्रेस संयोजक त्रिभुवन पौडेल गुमाउँदा धेरै चिज गुमाएको महशुस भइरहेको उपाध्यक्ष महराले बताए ।











