काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ र ‘गन्तव्यहीन’ भन्नु तर्कसंगत नभएको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठाएको प्रश्नको जवाफल दिँदै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको नीति तथा कार्यक्रमले गन्तव्यहीन भन्नु तर्कसंगत छैन । नीति तथा कार्यक्रमले जनताको मर्म समेटेको छ । त्यसैले यो कार्यक्रम कल्पनाको पुलिन्दा होइन ।’ प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति कटाक्ष गर्दै पहिलाकोले ल्याएको यो भन्दा गुणात्मक रुपमा फरक थियो र ? त्यसकारण यहाँ कहीँ न कहीँ हाम्रो राष्ट्रिय सहमति छ भन्ने ठान्छु म ।’
उनले थपे, ‘जसले कर्मकाण्डी भन्नुभएको छ, म एक हदसम्म भन्ठान्छु, यो कर्मकाण्डी पनि छ । कयौं आधारभूत कुराहरु यसअघिका सरकारहरुले ल्याउने पनि यस्तै हुन्थ्यो । त्यसकारण यो कर्मकाण्डी नै हो भने, हिजो सरकारको नेतृत्व गर्ने साथीहरुले भन्नुपर्ने हुन्थ्यो, हिजो सरकारको नेतृत्तव गर्ने पार्टी र नेता साथीहरुले भन्नुपर्ने हुन्छ, विल्कुल ठिक आयो, हामीले ल्याएको जस्तै आयो । हामीले पनि यस्तै ल्याउँथ्यौं, अहिलेको सरकारले पनि त्यस्तै ल्याएको हुनाले समर्थन गर्नुपर्ने हुन्छ ।’
राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्न समेत दलहरुलाई आग्रह गर्दै पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भएपनि देश र जनताको हितलाई हेरेर एक ठाउँमा आउनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले पनि राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ । सुशासन, त्यसमा पनि भ्रष्टाचार विरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं ।’














