Logo
Logo

कोशी प्रदेशको बजेट अधिवेशन आजदेखि, प्रदेशसभा घेर्ने पहिचानवादीको तयारी



काठमाडौं । नामाकरणपछि कोशी प्रदेशसभाको पहिलो बैठक आज (आइतबार) बस्दैछ । आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठकमा दुईवटा विधेयक पेस हुने कार्यसूची रहेको छ ।

बैठकमा प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश निजामती सेवा ऐन पहिलो संशोधन अध्यादेश र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेशलाई प्रदेश सभामा पेस गर्ने कार्यसूची पास गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रदेश सभाको आइतबारको बैठकमा नै प्रचलित प्रदेश ऐनहरूमा रहेको प्रदेश १ लाई संशोधन गरी कोशी प्रदेश कायम गर्ने विधेयक पनि आज नै पारित गर्ने कार्यसूची रहेको ।

आइतबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखले आव्हान गरेको प्रदेश सभाको बैठकको पत्र पढेर सुनाउने, शून्य समयमा प्रदेश सभाका सदस्यहरूले बोल्ने, विधेयकहरू पेस गर्ने तथा संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय भएको छ ।

तर, पहिचानवादीहरूले बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् ।

शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।

सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्