काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरी आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिएको बताएका हुन् ।

अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताए । सरकारले बजेट कार्यान्वयनमा विशेष जोड दिने बताउँदै उनले भने, ‘कार्यान्वयनलाई नै महत्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने छ ।’ उनले बजेट जतिसुकै राम्रा भएपनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले बजेट कार्यान्वयनमा सरकारले जोड दिने बताए ।
उनले भने, ‘समग्र जनता र देशलाईलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिंग सबैलाई मध्यनजर राखेर बजेट आउँछ । हामीले कार्यान्वयनमै जोड दिएका छौँ ।’ अर्थमन्त्री महतले बजेटलाई परिणाममुखी बनाउन कार्यान्वयनमा जोड दिनुपर्ने बताए । सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि सोमबार संसदमा पेश गर्दैछ ।














