Logo
Logo

क्यापिटल मर्चेन्टमा अरबौंको खेल : गरिबलाई जेल हालेर धनीहरुको मस्ती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ मंसिर । बैंकिङ कसुरसम्बन्धि कानुन आएपछि प्रहरीले बैंक तथा वित्तीय संस्थामा भएका अनियमितताका एक सय भन्दा धेरै मुद्दा दायर गरिसकेको छ । ५० भन्दा धेरै बैंक तथा वित्तिय संस्थामाथि छानबिन भएको छ र तीनका सञ्चालक, सिईओदेखि कर्मचारी र ऋणीसम्म फन्दामा परेका छन् ।

यसरी प्रहरीले मुद्दा दायर गरेको कसुरमध्ये बिगो र अभियुक्तका दृष्टिकोणले सबैभन्दा ठूलो मुद्दा क्यापिटल मर्चन्ट एण्ड फाइनान्सको हो । बत्तीसपुतलीमा कार्यालय रहेको यो फाइनान्समा आजभोलि सनुसान छ । किनकी बैंकिङ कारोबार हुँदैन । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन आफ्नो हातमा लिएको थियो । यसरी राष्ट्र बैंकले व्यवस्थापन हातमा लिएको समेत ८ वर्ष भइसकेको छ । तर, फाइनान्सको अवस्थामा अझै सुधार आएको छैन । कर्जा उठाउने र निक्षेप फिर्ता गर्ने जिम्मेवारीसहित राष्ट्र बैंकको व्यवस्थापन फाइनान्समा खटिएको थियो । तर, न राष्ट्र बैंकले कर्जा उठाउन सकेको छ, न त सबै निक्षेप फिर्ता गर्न नै । विभिन्न समूहको स्वार्थका कारण फाइनान्सको समस्या नसुल्झिएको स्रोत बताउँछ । कर्जाको धितोमा विभिन्न समूहले आँखा लगाएको र त्यही समूहले फाइनान्सलाई थप धरासायी बनाउँदै लगेको छ ।

शम्भुबहादुर केसी र पवन कार्कीको समूहले अहिले पनि चलखेल जारी राखेको छ । सोही समूहका केही व्यक्तिले कार्कीलाई भेट्न अमेरिका समेत गएका थिए । कार्की सोही पैसाले अमेरिकामा डिपार्टमेन्ट स्टोर खोलेर बसकेका छन् । नक्कली ऋणीहरु भने आत्महत्या गर्न पर्ने अवस्थामा छन् । फाइनान्सका तत्कालीन सीईओ महेन्द्र कर्माचार्य र ऋणीको तर्फका अधिबक्ता लब मैनालीले अमेरिका पुगेर भेटेको थाहा पाएको पीडितहरु बताउँछन् ।

सात अर्बको हिनामिना

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले सात अर्ब ७३ करोड ५७ लाख ४५ हजार सात सय पाँच रुपैयाँ अनियमितता भएको भन्दै मुद्दा दायर गरेको थियो । २०६८ सालमा मुद्दा दायर भएको हो । जसमा अधिकांश निर्दाेष व्यक्तिहरु फसेका छन् । प्रहरीले लापरबाहीपूर्ण तरिकाले अनुसन्धान गरेकाले वास्तविक व्यक्तिहरु उन्मन सफल भएका हुन् ।

यो हिनामिनाका मुख्य योजनाकार पवन कार्की अमेरिकामा छन् । गरिब र नक्कली ऋणीहरु भने जेलमा छन् । यो ठगीका योजनाकार फाइनान्सका तत्कालीन सिईओ पवनजंग कार्की र उनका ससुरा शम्भु केसी हुन् । कार्की हाल अमेरिकामा व्यवसाय गरेर बसेका छन् भने कार्की जेलबाट छुटिसकेका छन् । कार्कीलाई अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले समेत उनीविरुद्ध रेड नोटिस जारी गरिसकेको छ । नेपाल प्रहरीले वर्षाैदेखि उनलाई ल्याउने बताएपनि ल्याउन सकेको छैन । फरार भएकै अवस्थामा उनी नेपाल आएर फर्किएको बताइन्छ ।

एउटा हस्ताक्षरले सडकमा

सो मुद्दाका नक्कली ऋणीहरुको अवस्था भने दर्दनाक छ । केहीले खान समेत नपाउने अवस्थामा पुगेका छन् भने केहीको जेलमै मृत्यु भएको छ ।

तत्कालीन सिईओ कार्कीले आफ्ना ससुरा काभ्रे बनेपाका शम्भु केसीमार्फत नक्कली ऋणीहरु खडा गरी उनीहरुको नाममा विभिन्न कम्पनी बनाएर कर्जा प्रवाह गरेका थिए । केसीले आफ्नै छिमेकीहरुलाई त्यसरी फसाएका थिए । बनेपाको बुडोलस्थित केसी टोल शम्भु केसीकै कारण केही वर्षयता ठूलो समस्यामा छ । आफ्नो धेरै जग्गा भएकाले हदबन्दी लाग्ने भएकाले छिमेकीहरुको नाममा जग्गा पास गराई सोही जग्गा धितो राखेर उनीहरुकै नाममा कम्पनी खोलेर कर्जा प्रवाह भएको थियो । केसीले यसरी एक दर्जन गाउँलेलाई फसाएको पीडितहरुको भनाई छ । ‘यहाँ कसैको पनि पुख्र्यौली सम्पत्ति धितोमा राखिएको छैन, ती सबै जग्गा शम्भु केसीकै हुन् ।

’, पीडितमध्ये एक भैरव केसी भन्छन्,‘यसले पनि हाम्रो कुनै गल्ती छैन भन्ने प्रष्ट हुन्छ । तर पनि हाम्रो पीडा कसैले बुझेन ।’ अनुसन्धानको क्रममा प्रहरीले आफुहरुसँग वास्तविकता बुझ्ने काम नै नगरेको उनीहरुको गुनासो छ । आफूहरुले बैंकमा खाता खोलेर चेक लिए÷नलिएको समेत नहेरेको उनीहरु बताउँछन् । प्रहरीले चेक समेत बरामद नगर्नुले पनि अनुसन्धानमा चलखेल भएको प्रष्ट हुन्छ ।

धितोमा चलखेल

ऋणीहरुले नै धितो बिक्रि गरेर फाइनान्सको आधा कर्जा चुक्ता गरिसकेका छन् । अन्य धितोबाट बाँकी कर्जासमेत चुक्ता हुनेमा त्यसतर्फ ध्यान नदिएको पीडित ऋणीहरु बताउँछन् । बहुमुल्य जग्गाहरु धितोमा रहेको र त्यसमा धेरैले आँखा लगाएकाले राष्ट्र बैंकबाट फाइनान्समा खटिएको टोली समेत चेलखेलमा लागेको छ ।

राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरेको सो फाइनान्सले मुद्दा दायर भएपछि बैंकिङ कारोबार गरेको छैन । व्यक्तिगत ग्राहकरुको पैसा फिर्ता गरिसकेको छ । नेपाली सेना लगायतको संस्थापक निपेक्ष भने फिर्ता भएको छैन । एक माफिया समूहको प्रभावमा पारेर क्यापिटल फाइनान्सको समस्या हल नभएको र अमेरिकामा बसेर पवन कार्कीले नै चलखेल गर्दै आएको पीडितहरुको गुनासो छ ।

अदालतमा समेत चलखेल ?

बैंककी कर्मचारी रिना तन्डुकारलाई भने अदालतमा उपस्थित नै नभई तत्कालीन पुनरावेदन अदालत पाटनले सफाई दिएको थियो । जबकी नक्कली ऋणसम्बन्धि कागजपत्र बनाउने उनी नै भएको पीडितहरुको भनाइ छ । उनले नै पवन कार्की अमेरिका भागेपछि हुन्डीमार्फत पैसा पठाएकी थिइन् ।

योजनाकार शम्भु केसी जेलबाट छुटिसकेका छन् । उनले ‘आफुले नै नक्कली ऋणीहरु बनाएको र बनाइएका ऋणीहरुको दायित्व केहि छैन म आफै जिम्मा लिन्छु’ भनेर २०६८ सालको कात्तिक २ गते कागज गरिदिएका थिए । किनकी सबै योजना उनै केसी र उनका ज्वाई पवन कार्कीको थियो ।

अर्काे अचम्म के भने यति ठूलो मुद्दामा नौ महिनामा नै अदालतले फैसला गरेको थियो । आरोपित नक्कली ऋणीहरु लाई पर्याप्त समय दिइएन । मुद्दाको प्रतिकारपछि कसरी गर्ने, वकिलको खर्च र यातायात खर्च कसरी जुटाउने र घर केटाकेटीको रेखदेख र शिक्षा आदि समस्या कसरी मिलाउने भनेर योजना बनाइरहेकै बेला अदालतले फैसला गरेको र त्यसपछि प्रहरीले धमाधम पक्राउ गर्न थालेको पीडितको भनाई छ ।

शम्भुबहादुर केसी र पवन कार्कीको समूहले अहिले पनि चलखेल जारी राखेको छ । सोही समूहका केही व्यक्तिले कार्कीलाई भेट्न अमेरिका समेत गएका थिए । कार्की सोही पैसाले अमेरिकामा डिपार्टमेन्ट स्टोर खोलेर बसकेका छन् । नक्कली ऋणीहरु भने आत्महत्या गर्न पर्ने अवस्थामा छन् । फाइनान्सका तत्कालीन सीईओ महेन्द्र कर्माचार्य र ऋणीको तर्फका अधिबक्ता लब मैनालीले अमेरिका पुगेर भेटेको थाहा पाएको पीडितहरु बताउँछन् ।

यसरी भयो अनियमितता

हेटौडाका पूर्वप्रधानपञ्च निलशंकर श्रेष्ठले रिसोर्ट बनाउन भनेर सो फाइनान्सबाट ऋण लिई धेरै अगाडि उक्त ऋण चुक्ता पनि गरिसकेका थिएनन् । शम्भुबहादुर केसी, बैंकका व्यक्तिहरुसँग साँठगांठ गर्ने बाहिरी समूहले सोही कागजातको मद्दतले किर्ते गरी अर्को ८ करोडको ऋण उनको नाममा निकालेका थिए । हरिप्रसाद आचार्यले व्यवसाय गर्न साच्चिकै ऋण लिई व्यवसाय गरेका थिए । तर, ऋण तिर्न नसकेर उनको आफ्नो धितोमा राखिएको घर लिलाम गरी एउटा छाप्रोमा सिमित हुन पुगेका थिए । केसी बैंकका व्यक्तिहरुसँग साँठगाँठ गर्ने बाहिरी समूहले त्यही पहिलेको ऋणको कागजातको आधारमा नक्कली कागजात बनाई वा फसाई उनलाई २२ करोडको ऋण मिलाए ।

हाल जेलमा रहेका प्रकाशराज खत्री एक सफल व्यवसायी थिए । उनलाई भक्तपुर नलिन्चोकबाट गत महिना प्रहरीले पक्राउ ग¥यो । उनको धितोबाट पूरा ८ करोड पचास लाख ऋण चुक्ता भइसकेको छ । केसीले नै उनको नाममा सबै ऋण लिएर खर्च गरेका थिए । त्यसवापत केसीले नै राखेको धितोबाट ऋण असुल भइसकेको छ । तर पनि अनुसन्धान गर्ने निकायले हेर्न चाहेन र उक्त समुहको इशारा बमोजिम निर्दोष लाई फसाइएको उनीको भनाइ छ । पूरै कर्जा चुक्ता हुँदा पनि उनी जेलमा बस्न बाध्य छन् ।

काखे बालककी आमा शान्ति केसीलाई बैंकको कागजात र चेकमा हस्ताक्षरसमेत गर्न आउँदैन । तर, उनलाई अदालतले दोषी देखाएका छ । यसरी दर्जनौं परिवार केसीका कारण सडकमा आएका छन् । यसरी मुद्दा चलाइएकामध्ये एक युवकले जेलमै ज्यान गुमाएका छन् । केही गम्भीर रोगबाट पीडित छन् । सामान्य मान्छेलाई अदालतबाट करोडौंको जरिवानाको फैसला भएपछि यस्तो अवस्था आएको हो । तर, पनि चलखेल अझै जारी रहेकाले छुट्टै छानबिन गरेर वास्तविक दोषी पत्ता लगाउन पीडितका परिवारले माग गर्दै आएका छन् । यस घटनाप्रति न्याय परिषद्को पनि ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्