Logo

दुर्घटनामा ज्यान गुमाएका १० जनाको सामूहिक दाहसंस्कार, इस्मामा शोक विदा


Published On : 4 December, 2019

बाग्लुङ, १८ मंसिर । बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा मंगलबार जीप दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको सामूहिक दाहसंस्कार गरिएको छ । इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो । सो दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने एक जना बेपता भएका छन् ।
दुर्घटनामा मृत्यु भएका इस्मा–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की, ४५ वर्षीय भुमि कार्की, २५ वर्षीया मीना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की र दुई वर्षीया अनुस्का कार्कीको दाहसंस्कार गरिएको छ । त्यस्तै सोही गाउँपालिका वडा नं ५ की ४० वर्षीया बवसुन्धरा कार्की र २३ वर्षीया माया थापाको पनि सामूहिक दाहसंस्कार गरिएको स्थानीय लंगबहादुर बस्नेतले बताए ।
कञ्चनपुरबाट धनबहादुर कार्की पहिलोपटक दाजुभाइ खोज्दै कुलपूजाका लागि इस्मा आएका थिए । तर दाजुभाइसँगको भेट अन्तिम मात्रै रह्यो । जे उद्देश्य बोकेर आए, त्यो पूरा भएन । अन्तत घरसमेत फर्किन पाइएन । कुलपूजाकै लागि इस्मा आएका ५५ वर्षीय कार्कीको पनि दुर्घटनामा परी मृत्यु भयो । उनको शव बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । उनका आफन्त आएपछि बुझाइने भएकाले शव अस्पतालमै राखिएको भतिज बद्री कार्कीले जानकारी दिए ।
बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहसंस्कार गरेका छन् । लक्ष्मी घरबाट गाडी चढेको दुई मिनेटमै दुर्घटनामा परेका थिए । इस्मा–४ का गाडी चालक २५ वर्षीय रेशम थापाको शव मंगलबार नै परिवारले बुझेका थिए । उनको निस्ती दोभानमा बुधबार बिहान दाहसंस्कार गरिएको स्थानीय रामबहादुर रेश्मीले जानकारी दिए । त्यस्तै नवलपरासी बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुना कार्कीको शव नवलपरासी लगिएको छ ।
यस्तै, दुर्घटनामा परेका इस्मा–४ दोहोलीका धनबहादुर कार्की अहिलेसम्म पनि बेपत्ता छन् । बुहारी सूचना कार्कीको मृत्यु भएको छ । नाति चार वर्षीय हिमाल कार्की अस्पतालमा छन् । मंगलबार दिनभर दुर्घटनास्थलमा खोजतलास गरे पनि शव भेटिएको छैन । दुर्घटनामा नवलपरासी बर्दघाट–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गापा–४ का चार वर्षीय हिमाल कार्की र २४ वर्षीया निमा केसी घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ । अहिले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।
गाउँपालिकाद्वारा शोक बिदा
दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश इस्मा गाउँपालिकाका छन् । जसले गर्दा गाउँपालिका र सिंगो जिल्ला शोकमा डुबेको छ । इस्माका पनि विशेष गरी कार्की र बस्नेत परिवार बढी शोकमा छन् । कतिका सिन्दूर पुछिएका छन्, भने कतिका काख रित्तिएका छन् । दुर्घटनामा इस्मालीले ज्यान गुमाएको भन्दै गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ ।
दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्