Logo
Logo
कला

‘रहर र इच्छा पूरा गर्न गायन रोजेँ’



गायिका खुसी थुलुङका बुबा-आमाले छोरीलाई नर्स बनाउन चाहेका थिए । तर, छोरी खुुसी आफ्नै रुची र रहरलाई पछ्याउँदै गायिका बनिन् । उनी गायिका नबनेको भए सायद अहिले उनी कुनै अस्पतालमा नर्सिङको जागिरे हुन्थिन् । तर, खुसी गायनबाट पनि खुसी नै छन् । उनी भन्छिन्, ‘म गायनमा लागेर पनि खुसी नै छु ।’ ‘कति मीठो राम साइँला’जस्ता चर्चित गीतका गायिका खुसी नृत्य र अभिनयमा पनि सौखिन छिन् । इलाम सन्दकपुर-१ की खुसी भन्छिन्, ‘सानो हुँदा नाच्थेँ । तर, गायिका बनेँ । गायन पनि मेरो सानैदेखिको रुची हो ।’

खुशीसँग अझै नृत्य र अभिनय गर्ने मोह छ । संगीत विषयमा ललितकला क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत खुसी भन्छिन्, ‘कल्चरल चलचित्रमा अफर आए अभिनय गर्न तयार छु ।’ ‘आउन आउ परदेशी राजा’ बोलको गीतमार्फत सांगीतिकयात्रा प्रारम्भ गरेकी खुसीले तीन दर्जनभन्दा बढी गीत गाइसकेकी छिन् । ‘कति मीठो राम साइँला’, ‘सपनी निष्ठूरी त्यो’, ‘देख्न मन लाग्यो’, ‘काली छु कि गोरी’जस्ता चर्चित गीतका गायिका खुसी थुलुङसँग एमपी सुब्बाको जम्काभेट ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
गीतसंगीतमै व्यस्त छु । मेरो चाँडै नै नयाँ गीत आउँदैछ । यसपटक मैले लेजेण्ड कलाकारसँगको सहकार्यमा काम गर्दैछु । मेरो नयाँ प्रोजेक्ट गायक एस कुमारसँग गर्दैछु । ‘किराती चेली’ बोलको गीत हामी गर्दैछौँ ।

सांगीतिक क्षेत्रमा लाग्नुभएको कति भयो ?

एक दशकभन्दा बढी भयो । ०७१/७२ सालतिर गाउन सुरु गरेकी हुँ । त्यसभन्दा अगाडि नृत्य गर्थेँ । सानोमा नाच्न रुचाउँथे । तर, एसएलसी दिएपछि स्टेजमा गाउने र नाच्ने दुवै गर्थेँ ।

रुची नृत्यमा, कसरी गायनमा लाग्नुभयो ?
नृत्य र गायन एकापसको अभिन्न अंग हो । नृत्य गर्दै जाँदा स्कुलमा विभिन्न कम्पिटिशनहरुमा भाग लिन थालेँ । अर्को कुरा, मेरो परिवारमै सांगीतिक माहोल थियो । गीत रेकर्ड नगरे पनि आमाबुबा गुन्गुनाइरहनु हुन्थ्यो । मेरो दाजु गीत लेख्नुहुन्छ । मैले एउटा कार्यक्रममा गाउने प्रयास गरेकी थिएँ । जहाँ मेरो गायनलाई धेरैले रुचाइदिनुभयो । साथीहरूले ‘राम्रो गाउने रहेछौँ’ भनेर प्रोत्साहन गरे । त्यसपछि गायिका बन्ने इच्छा जाग्यो । आमाबुबाको इच्चाचाहिँ मलाई नर्स बनाउने थियो ।

तपाईलाई चाहिँ नर्स बन्ने इच्छा भएन ?
सुरुमा थिएन । तर, आमाबुबाको इच्छा मलाई नर्स वा अहेब बनाउन थियो । त्यसैले अनमीमा इन्ट्रान्स पनि दिएँ । नाम पनि निकालेँ । तर, दुईटा इच्छा एकैसाथ पूरा गर्न नसक्ने अवस्था आएपछि अनमी पढ्न छाडेर संगीतमा लागेकी हुँ ।

गायनमा लागेकोमा पछुतो लागेको छैन ?
खासै पछुतो लागेको छैन । तर, यदि गायिका नभएको भए नर्सचाहिँ पक्कै हुन्थेँ । किनकि, आफ्नो इच्छालाई छाडेर आमा-बुबाका लागि भएपनि नर्सिङ पढ्थेँ । तर, त्यो समयमा आफ्नो रुची पूरा गर्न गायिका बन्ने निर्णय गरेँ ।

सुरुमा काठमाडौं केका लागि आउनुभएको थियो ?
एसएलसी दिएपछि गीतसंगीत सिकेर गायिका बन्छु भनेरै काठमाडौं आएकी हुँ । काठमाडौं आएपछि सिर्जना फाइन आर्टमा संगीतकै विषय लिएर प्लस-टुमा भर्ना भएँ । अहिले ललितकला क्याम्पसमा संगीतकै विषयमा स्नातकोत्तर पढ्दै छु ।

पहिलोपटक गाउनुभएको गीत कुन हो ?
पहिलोपटक ‘आउन आउ परदेशी राजा’ बोलको गीत रेकर्ड गरेकी थिएँ । उक्त गीत दर्शक तथा श्रोताले निकै रुचाए । त्यसपछि गायनप्रति अझ मोह बढ्दै गयो ।

तपाईँलाई गायिकाका रुपमा चिनाउने गीत त्यही हो ?
उक्त गीतबाट राम्रो रेस्पोन्स पाएकी थिएँ । तर, गायिका खुसी थुलुङ भनेर नेपाली सांगीतिक क्षेत्रमा मलाई स्थापित गर्ने गीतचाहिँ ‘कति मीठा राम साइँला’ हो । जुन गीत अत्याधिक रुचाइयो । अहिले पनि उक्त गीत पूर्वमा चर्चित नै छ ।

इच्छाले रोज्नुभएको पेसाबाट खुसी हुनुहुन्छ ?
खुसी छु । सुरुका दिनमा धेरै मिहिनेत र संघर्ष गर्नुप¥यो । संघर्ष गर्नुपर्छ पनि । अहिले पनि संघर्ष गरिरहेकी छु । म संघर्षबाट नथाक्ने र हिम्मत नहार्ने मान्छे हुँ । एकदिन प्रतिफल पाइन्छ भन्ने ममा धैर्यता छ ।

संगीतमा लगानी गरेअनुसार प्रतिफल पाइनै रहनुभएको छ ?
संगीतमा मेरो लगानी धेरै छ । आर्थिक लगानी नभएर समयको पनि लगानी गरेकी छु । एक दशकभन्दा बढी समय संगीतमा लगानी गरिसकेकी छु । त्यसअनुसार नाम पाएकी छु । दर्शक तथा श्रोताको माया पाएकी छु । शुभचिन्तकहरूबाट प्रोत्साहन र हौसल पाइरहेकी छु । यो पनि लगानीकै प्रतिफल हो ।

नृत्य रुचाउँने मान्छे गायनमा किन लाग्नुभएन ?

नृत्यमा रुचि अहिले पनि छ तर, गायनमा छु । त्यसैले नाच्ने काम गरेकी छैन । फिल्ममा अभिनय गर्ने रुची अझै छ । कल्चरल फिल्ममा अफर आयो भने अभिनय गर्न तयार छु । अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास पनि छ । किनकि, मैले रुचीकै कारण थिएटरमा अभिनयको प्रशिक्षण पनि लिएकी छु ।

गायनबाहेक अरु व्यवसाय के गर्नुहुन्छ ?
अहिलेसम्म गायनमात्रै हो । म्युजिक विषय पढाउनका लागि केही स्कुल र क्याम्पसहरूले प्रस्ताव गरिरहेका छन् । तर, अहिलेसम्म गायनबाटै पुगिरहेको छ । अबचाहिँ सरकारी जागिर खानुपर्ला कि भनेर सोच्दैछु ।

नेपालमा पनि गाएरै बाँच्ने अवस्था आयो है ?
गीत गाएर बाँच्ने मात्र होइन, कमाउन पनि सक्ने अवस्था छ । पछिल्लो समय गर्न सक्यो भने गीतसंगीतबाट कमाउन सकिन्छ । सबैभन्दा ठूलो कुरा मिहिनेत र धैर्यता हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्