Logo
Logo

‘प्रोटोकल मान्नुपर्ने भएकाले गेरुवस्त्र लगाएको हुँ’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो टोली पत्नी सीता दाहालको स्वास्थ्य लाभका लागि भारतको तीर्थस्थल महाकालेश्वर नगएको बताएका छन् । मन्दिर गएकोबारे टिकाटिप्पणी भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू धर्मनिरपेक्षवादी भएको बताए ।

शनिबार साँझ चारदिने भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलको भीभीआईपी कक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफू महाकालेश्वर गएकामा पक्ष विपक्षमा टिप्पणी भएको भन्दै यस्तो गुनासो गरेका हुन् ।

उनले भने, ‘धर्मनिरपेक्षवादी भएको नाताले हिन्दु, मुस्लिम, बुद्धिष्ट सबैप्रति समान दृष्टिकोण राख्नुपर्छ । उज्जैन भव्य रहेछ । हामी पनि बुद्ध सर्किट बनाउँदैछौ, धार्मिक पर्यटनको प्रयास गरिरहेका छौँ । यस्तो अवस्थामा म भारत भ्रमणमा गएका बेला उज्जैन गएका हौँ ।’ प्रधानमन्त्री प्रचण्डले शुक्रबार उक्त मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएका छन् । साथै, ५१ हजार रुपैयाँ पनि दान गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले आफुु कम्युनिस्टमात्र नभएर प्रधानमन्त्री पनि भएको बताउँदै त्यहाँ जाँदा सुरक्षाकर्मीले आफूलाई गेरुबस्त्र नलाउन बल गरेपनि त्यहाँको प्रोटोकल मान्नुपर्ने भएकाले लगाएको प्रस्ट पारे ।

उनले भने, ‘महाकालेश्वरमा लाउनैपर्ने रहेछ । मैले नलाउँदा भारतका करोडौलाई चिसो पस्ने भएकाले सहज ढंगले खुसी भएर लाएको हो । एकथरी साथीलाई यो के भयो भन्ने भयो । कतिपयलाई अब कमण्डलु बोकेर हिँड्ने भयो पनि भने । यसलाई सांस्कृतिक कटनीतिका रुपमा किन नबुझ्ने ?’ सोक्रममा उनले यस पटकको भारत भ्रमण विगतको भन्दा भिन्न र परिणामुखी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्