
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी परेको छ । सोमबार रतन भण्डारीले कार्कीविरुद्ध खुला रूपमा संसदीय सुनुवाइ समितिमा उजुरी हालेका हुन् ।
भण्डारीले कायममुकायम प्रधानन्यायाधीश कार्कीले पदमा हुँदा पदीय आचरण र सामान्य विधिशास्त्रीय प्रचलन र आचारसंहिताविपरीत काम गरेकाले उनी प्रधानन्यायाधीश हुन अयोग्य रहेको उजुरीमा दाबी गरेका छन् ।
त्यस्तै उनले असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने कार्कीले सेवानिवृत्त भएपछि पूर्व प्रधानन्यायाधीशलाई राज्यबाट पाउने करोडौंको गाडी, पेन्सन, सुरक्षाकर्मीजस्ता सुविधाको लोभले त्यो पदमा जान खोजेको आरोप लगाएका छन् ।
कायममुकायम प्रधानन्यायाधीश कार्की कसैलाई प्रधानन्यायाधीश हुन अयोग्य छ भन्ने लागेमा यही जेठ २६ गतेभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सर्वोच्च अदालत झन्डै १५ महिनादेखि प्रधानन्यायाधीशविहीन छ ।














