Logo
Logo

प्रहरी नै हिरासतमा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री, बहालवाला सचिव, शरणार्थी नेता मात्र होइन प्रहरी अधिकारी नै जोडिएका छन् । हाल थुनामा रहेका १८ प्रतिवादीमध्ये एक प्रहरी अधिकारी भएको खुलेको छ ।

गत १२ जेठमा पक्राउ परेकी लक्ष्मी महर्जन प्रहरी कर्मचारी हुन् । उनी नेपाल प्रहरी अस्पतालमा प्रहरी नायब निरीक्षक(सई) पदमा कार्यरत छिन् । प्राविधिकतर्फ स्टाफ नर्सका रुपमा कार्यरत उनी अन्जानबस यो प्रकरणमा मुछिएकी हुन् ।

उनका श्रीमान हरिभक्त महर्जन पनि सो मुद्दाका प्रतिवादी हुन् । हरिभक्त एक सहकारीमा काम गर्दथे । उनका साथी टोखाका हरिशरण केसी हुन् । केसीले अमेरिका पठाउने आश्वासनमा आफ्ना आफन्तहरूसँग पनि पैसा उठाएका थिए । घर समेत धितो राखेर पैसा निकाली तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकलाई बुझाए । तर, न काम भयो, नत्र पैसा फिर्ता भयो उल्टै उनी यतीबेला प्रहरी हिरासतमा छन् ।

रामशरण र हरिभक्त साथी हुन् । शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा लेनदेनमा उनी पनि संलग्न थिए । हरिभक्त र उनकी श्रीमती लक्ष्मीको पनि खाता प्रयोग भएको थियो । त्यही आधारमा उनीहरुलाई समेत प्रतिवादी बनाइएको हो । खाता प्रयोग भएकै आधारमा १० जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये हरिभक्त र लक्ष्मी भने आफैं अदालतमा उपस्थित भएका छन् ।
उनीहरुजस्तै राजेश अर्याल लगायत व्यक्ति यो घटनामा खाता प्रयोग गर्न दिएकै आधारमा राज्यविरुद्धको अपराध मुद्दा झेल्न बाध्य छन् । अर्याल रामकुमार रेग्मीको कम्पनीको कामदार थिए । रेग्मीले विभिन्न व्यक्तिबाट अर्यालको खातामा पैसा मगाउँथे । निकालेर अन्य व्यक्तिलाई दिन्थे । अहिले यो मुद्दामा रेग्मी पीडित बनेका छन् भने अर्याल भने अभियुक्त बनेका छन् ।

प्रहरीले खाता प्रयोग भएका व्यक्तिहरुलाई साक्षीका रुपमा अदालतमा पेश गर्न सक्ने अवस्था थियो । तर, उच्चपदस्थलाई जोगाउन खोज्ने तर पहुँच नभएकालाई थुन्ने अनुसन्धान प्रणालीका कारण निर्दाेषहरु समेत फसेका छन् ।

प्रतिक्रिया दिनुहोस्