Logo
Logo

विवादास्पद व्यापारीको सिइओ बने पूर्वआइजिपी



काठमाडौं । अवकाशपछि सुरक्षा निकायका प्रमुखहरू कोही शक्तिको भोकले राजनीतिमा लाग्छन् त कोही गुमनाम जीवन बाँचिरहेका हुन्छन । कतिपय भने पैसाको लतले व्यापारमा लाग्ने गर्छन् ।

सशस्त्र प्रहरी बलका एक पूर्वमहानिरीक्षक भने एक व्यापारीको जागिरे बनेका छन् । पूर्वआइजिपी शैलेन्द्र खनाल व्यापारी दीपक मल्होत्राको कम्पनीमा विवादास्पद जागिरे बनेका हुन् । चार वर्षसम्म फौजको कमाण्ड सम्हालेका व्यक्ति व्यापारीको जागिरे बनेको देख्दा धेरैले अनौठो मानेका छन् ।

स्रोतका अनुसार सिइओका रुपमा उनी मल्होत्राको आइएमएस ग्रुपमा आबद्ध भएका छन् । सिइओ भएपनि उनको भूमिका व्यापारमा भन्दा शक्तिकेन्द्रहरुमा सेटिङ मिलाउने केन्द्रीत छ ।

प्रधानमन्त्री प्रचण्डका ज्वाई जीवन आचार्यसँग खनालको दोस्ती छ । आचार्यसँग मिलेरै अहिले ठूला कामहरू हात पार्ने प्रयासमा उनी लागेको स्रोत बताउँछ । आचार्य हाल कोशी प्रदेशमा मन्त्री छन् ।

समाचार स्रोतका अनुसार खनालले गोप्य रुपमा उक्त कम्पनी लगानीसमेत गरेका छन् । सिधैं लगानी गर्दा स्रोत नखुल्ने भएकाले उनले गोप्य रुपमा लगानी गरेका हुन् ।

त्यसो त खनाल राजदूत हुने दौडमा पनि छन् । जीवन आचार्य लगायतमार्फत नै उनी यो खेलमा पनि छन् । तर, तत्काल राजदूत हुने सम्भावना नभएपछि उनी मल्होत्राको कम्पनीमा लागेका हुन् ।

‘सुन तस्करीमा मुछिएको कम्पनीमा पूर्वआइजिपीसाब लाग्नु संगठनकै लागि पनि राम्रो विषय होइन,’ सशस्त्र प्रहरी बलका एक अधिकारी भन्छन्,‘पूर्वआइजिपीका लागि पनि एउटा आचारसंहिता लगाउनुपर्ने देखियो ।’

यसअघि आइएमएस ग्रुपमा नेपाल प्रहरीका एआइजी नवराज ढकाल कार्यरत थिए । उनी अमेरिका गएपछि सोही पदमा खनाल जोडिएका हुन् । खनालमाथि अकुत सम्पत्ति आर्जनसम्बन्धि उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्