काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्वले हवाईजहाज बनाउने र उडाउनेमात्र नभएर कम्युटर बनाउने मान्छे समेत पाइसक्दा हामीकहाँ भने बजेट टाइप गर्ने मान्छे नपाएको भन्दै व्यंग्य गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै ओलीले बजेट बनाउने अघिल्लो रात अर्थ मन्त्रालयमा ‘अनधिकृत व्यक्ति प्रवेश गरेर करको दरमा हेरफेर गरेको’प्रति लक्षित व्यंग्य गरेका हुन् ।
ओलीअघि बोलेका अर्थमन्त्री प्रकाशशरण महतले बाध्यताका कारण बजेट टाइप गर्न रामकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिनुपरेको बताएका थिए । जवाफमा ओलीले विश्वले हवाईजहाज बनाउने र उडाउनेमात्र नभएर कम्युटर बनाउने मान्छे समेत पाइसक्दा हामीकहाँ भने बजेट टाइप गर्ने मान्छे नपाएको भन्दै व्यंग्य गरेका हुन् ।
‘यत्रा वर्षमा हवाईजहाज मान्छेले बनाए, उडाउने पनि मान्छे बनाए । कम्युपटर बनाउने पनि, चलाउने पनि आए । आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्यो मान्छे, ती पनि भेटिए । तर, यहाँ डाटा इन्ट्री गर्ने मान्छे छैन’, ओलीले व्यंग्य गरे ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले १० जना व्यक्तिलाई बिनाकाम तलब दिएर राखेको भन्दै अर्थ मन्त्रालयले किन योग्य मान्छे नराखेको भन्ने प्रश्न पनि गरे । ‘राष्ट्रपतिज्यूले १० जना कांग्रेसका नेताहरू मन्त्रीस्तरको सुविधा दिएर फनफनी घुमाएर त्यहाँ राख्नुभएको छ । बेकारमा घाम तपाएर भयो भने शीतल तपाएर अर्थ मन्त्रालयमा भने टाइप गर्ने मान्छे छैन । अर्थमन्त्री चाहिँ त्यहीँ एउटा मान्छे छ, बाध्यता छ भन्नहुन्छ,’ उनले भने ।











