
काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस कामु हरिकृष्ण कार्कीविरुद्ध ११ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले जेठ २६ गतेसम्म कार्कीविरुद्ध उजुरी आह्वान गरेपछि उनीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितले उजुरी दिएका हुन् ।
न्यायाधीश डाक्टर श्रीकृष्ण भट्टराईले कार्कीमाथि प्रधानन्यायधीश पदको सम्मान, गरिमा र ओज कायम राख्नसक्ने हैसियत र ल्याकत नभएको दाबी गर्दै उजुरी दिएका छन् ।
कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा इमेल, चिठी र आफैँ उपस्थित भएर ११ वटा उजुरी परेको हो । जेठ २६ गतेसम्म थप उजुरी आउन सक्ने समितिले जनाएको छ । तर, कस्ता उजुरी परेका छन् भन्ने समितिले सार्वजनिक गरेको छैन ।
उजुरी पहिचान गरेपछि सदस्यहरूले सुनुवाइका क्रममा कार्कीसँग सोध्न सक्ने छन् । कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई संवैधानिक परिषद्को गत वैशाख २५ गते बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।














